शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंबाट साढे ४ करोडबराबरको कोकिन बरामद, ९ जना पक्राउ

नेपालखोज २०७८ साउन १८ गते १८:२६

काठमाडौं । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोबार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । व्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ केजि ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद ७ लाख ८८ हजार ५७५ बरामद गरेको बताएको छ ।

बरामद भएको कोकिनको बजार मूल्य करिब ४ करोड ५३ लाख ६० हजार बराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटलमा अबैध लागू औषध कोकिनको कारोबार भईरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न ४ जना र कोकिन ५०० ग्राम फेला पारेको थियो । लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले पक्राउ परेका ४ जनाको सूचना र डेरा कोठा खानतलासी गर्दा थप ५ जना र थप कोकिन र चरेश फेला परेको थियो ।

प्रहरी टोलीले पक्राउ परेकाहरुको बस्ने कोठा र अन्य संलग्नहरुको खोजी गर्दा काठमाडौं रानीबारी बस्ने बर्ष ४५ का सुरोज गुरुङबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम र रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरबाट अबैध लागू औषध कोकिन ३२९ ग्राम र नगद ७ लाख ५० हजारसहित पक्राउ गरेको बताएको छ । यसैगरि रानीबारीबाट थप तीन जना मुना तामाङ गुरुङ, रक्की आलेमगर, रायल थापा मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ का सन्दिप पटेल पनि रहेको प्रहरीले बताएको छ । व्यूरोले पक्राउ परेकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद गराई थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया