शुक्रबार, चैत १६, २०८०

एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत, कार्यगत एकतामा जोड

नेपालखोज २०७८ साउन १९ गते १९:५२

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आज महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए । निजी क्षेत्रको प्रवर्द्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा उनले जोड दिए । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्रनै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरिएको छ । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि सहमती भएको छ ।

साथै कार्यक्रममा कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र, उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा जोड दिइएको थियो । सो अवसरमा सीएनआईका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयाँ नेतृत्वसंग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए ।

मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेकइन नेपाल अभियानलाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गर्न पनि अध्यक्ष गोल्छाले आग्रह गरे ।

सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाए । अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिंदै अगाडि अवका दिनमा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडी बढ्ने बताए । उनले निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही नहुने बताए ।

प्रतिक्रिया