शनिबार, फागुन १२, २०८०

‘एमालेले जनतालाई धोका दियो, आरक्षपीडितको समस्या समाधान हामी गर्छौं’

नेपालखोज २०७८ साउन १९ गते २२:१०

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबार आयोजित कार्यकर्ता भेलामा उनले लामो समयदेखि क्यान्सरजस्तै बनेको आरक्षपीडितका समस्याका समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन् ।

उनले आरक्षपीडिका समस्या समाधानका लागि आफू प्रतिबद्ध भएकोले तत्काल यो समस्या समाधान गरिने बताएका छन् । उनले भने, ‘हामीले गर्छौं भनेर पहिले पनि भनेका छौं । भोलि पनि हामीले नै गर्नुपर्ने हो । तर, एमालेको बहकाउमा हामीले आउनुपर्ने छैन । साढे तीन वर्षसम्म झिँगा नमार्नेहरुले अब आरक्षको समस्या समाधान गर्ला ? केन्द्रमा सरकार बदलिसकेपछि विभिन्न प्रलोभनहरु देखाएर बहकाउने काम गरिरहेका छन् । त्यस्ता हल्लाको पछि नलाग्नु होला ।’

उनले कसैले १० कठ्ठा दिने र कसैले ६० लाख रुपैयाँ दिने प्रलोभन देखाएको भन्ने सुनेको उल्लेख गर्दै त्यस्ता भ्रमको भण्डाफोर गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् । यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ ।’

एमालेले नागरिकहरुलाई विभिन्न अपेक्षा देखाएर आरक्षपीडितहरुलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उनले भने, उनले (एमालेले) आरक्षपीडितका समस्या समाधान गर्छौं भनेर जनतालाई धोका दिएका छन् । जनतालाई झुट बोलेका छन् । साढे तीन वर्षभन्दा बढी सरकार चलाउँदा केही गर्न नसक्ने । आरक्षपीडितहरुलाई कसरी व्यवस्थित गर्नुपर्ने हो, त्यसको लागि हामी व्यवस्था गर्छौं ।’ -फाइल तस्बिर

प्रतिक्रिया