शुक्रबार, वैशाख ७, २०८१

बालबालिकामा बढ्यो पोस्ट कोभिडको संक्रमण, बन्दै छ घातक (भिडियो रिपोर्ट)

‘खतरनाक रोग एमआईएससी भइहाले कमजोर आर्थिक अवस्था भएकाले उपचार गर्नै गाह्रो’

केशव भट्टराई २०७८ साउन २० गते १७:०८

बालबालिकामा एमआईएससी रोग लागेमा तीन दिनसम्म लगातार १०४.४ डिग्रीसम्म ज्वरो आउने हुन्छ । यस्तै रक्तचाप निकै कम हुने, जिउमा राता खटिरा आउने, आँखा रातो हुने, हात र खुट्टाको पैताला रातो हुनेलगायत समस्याहरू देखिने गर्छन् ।

काठमाडौं । कोरोना संक्रमणसँगै वा संक्रमण भएको केही सातापछि बालबालिकामा लाग्ने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) रोगको सम्बन्धमा मैले कान्तिबालका एक चिकित्सकसँग बुझ्ने जमर्को गरेँ । उनी कार्यक्षेत्रमैं खटिएका बेला परिचयसहित उपस्थित भएँ । यो रोग कस्तो हो ? डाक्टर साहेब, मेरो प्रश्न थियो । व्यस्त भएको बताउँदै यति मात्र भने, ‘यो एकदमै खतरनाक हो । कान्ति बाल अस्पतालमा पनि केहीलाई यो समस्या देखिएको छ ।’ अरू पनि जिज्ञासा राख्न खोजें । तर व्यस्तता देखाउँदै बोल्न मानेनन् ।

मैले रिपोर्टिङका लागि अनुमति लिन अस्पतालका निर्देशकलाई भेट्नुपर्छ भन्ने सल्लाह ती डाक्टरबाट पाएँ । अस्पतालका निर्देशक डा. आरपी बिच्छा (सरकारले बिच्छालाई साउन १९ गते साँझ मात्र स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेको छ) लाई भेटेर मैले अस्पतालको रिपोर्टिङ गर्ने अनुमति पाएँ । सोधखोज गर्दै जाँदा संयोगवश कोभिडपछि एमआईएससी रोग भएका एक बालकका बुबा बाजुराको बडिमालिका नगरपालिकाका मथुराराम पण्डितलाई भेटें । पण्डितले सुरुमा पसिनासहित उच्च ज्वरो आएको र सहनै नसक्ने गरी छोरोको पेट दुखेको सुनाए । यस्तै बालकमा शरीर भिज्ने गरी पसिना आउने, पखाला हुने, बान्ता हुने, उच्च ज्वरो र पेटमा पानी जम्ने समस्या देखिएको उनको भनाइ छ ।

स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि सुरुमा उनले छोरालाई बाजुरास्थित अस्पतालमा लगे । टाइफाइड भएको भन्दै बढी डोजको दबाई लेखिदिए डाक्टरले । तर पेट दुख्ने समस्या झनै बढेपछि उनी प्रदेश अस्पताल धनगढी पुगे । त्यहाँ पनि उपचार सम्भव नभएपछि कान्ति बाल अस्पताल काठमाडौं आइपुगे । अस्पतालले ठाउँ नभएको जनाएपछि हल्का गोजी लिएर महँगो निजी अस्पतालतिर हानिए पण्डित । उनले एमआईएससी रोगको उपचारमा अनिवार्य चाहिने औषधि आईभीआईजी आठ भाइलको एक लाख १२ हजार गरी पाँच लाख रुपैयाँ हाराहारीमा औषधि र उपचारमा खर्च गरीसके । कमजोर आर्थिक अवस्था भएकाले यस रोगको उपचार गर्नै गाह्रो हुने उनको दुखेसो छ ।

यता बझाङबाट काठमाडौं आएर छोराको उपचार गराइरहेका छन् टंक जोशी । खतरनाक रोग एमआईएससी भइहाले कमजोर आर्थिक अवस्था भएकाले उपचार गर्नै गाह्रो हुने उनी बताउँछन् ।

सयजना कोराना संक्रमितमध्ये एकदेखि दुई प्रतिशतलाई लाग्ने यो रोगबाट मृत्यु भएका बालबालिकाको सम्बन्धमा कहिलेकाहीँ छिटफुट समाचार पनि सार्वजनिक हुने गरेका छन् । डेढ महिनाअघि कान्ति अस्पतालमा बेहोस अवस्थामा पुर्‍याइएका एक बालकको उपचारकै क्रममा मृत्यु भयो । बालकको कोराना पोजिटिभसँगै एमआईएससी रोगका कारण मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरे ।

यस्तै केही साताअघि काठमाडौं सिनामंगलका ढकाल परिवारका एक साढे १० महिने छोरालाई सुरुमा ज्वरोको लक्षण देखियो । शरीरमा साना-साना राता बिबिराहरू पनि देखिए । उच्च ज्वरो आउने र घट्ने क्रम भयो । अन्ततः एमआईएससी रोग नै भएको पुष्टि भयो ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरका बेला सबैको ध्यान कोरोना भाइरसतिर मात्र गयो । कोभिड प्रभावित बालबालिकालाई एमआईएससी रोग लाग्छ भन्ने कुरा धेरै कम अभिभावकलाई थाह छ । यस्तै कोरोना संक्रमणदर उच्च भएका बेला यस रोगतर्फ धेरै कम चिकित्सक र स्वाथ्यकर्मीको ध्यान गएको देखिन्छ । कोभिडसँगै बालबालिकामा अनौठा लक्षणहरू देखिने रोग एमआईएससी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयको यसतर्फ चासो बढेको छ ।

अहिले सरकारी अस्पतालहरूमा व्यवस्थित किसिमले उपचार गर्न थालिएको छ । लक्षण देखिनेबित्तिकै एमआईएससी भएका बालबालिका अस्पताल भर्ना हुने क्रम बढेको छ । कान्ति बाल अस्पतालमा अहिलेसम्म ६६ जनालाई एमआईएससी रोग भएको पुष्टि भएको छ । एमआईएससी भएका बालबालिकाको दर पहिलो लहरभन्दा दोस्रो लहरमा बढी छ । कान्ति बालकी मेडिकल रेकर्डर अधिकृत सुनीता पोखरेलका अनुसार एमआईएससीका कारण अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । पहिलो लहरमा यस रोगका कारण चारजनाको मृत्यु भएको थियो । दोस्रो लहरमा ११ जनाको मृत्यु भएको भएको छ ।

प्रायः कोभिड भइसकेका बालबालिकालाई २ देखि ६ सातासम्ममा लाग्ने रोग एमआईएससी हो । यसलाई केही चिकित्सकले त पोस्ट कोभिड सिन्ड्रोम उपनाम दिएका छन् । आमाबुवा वा परिवारका कोही पनि सदस्यलाई कोभिड लागेको छ भने या कुनै पनि बालबालिका कोभिड प्रभावित छ भने उसमा एमआईएससी रोग लाग्न सक्छ । कोभिड भएका बालबालिकामा देखिने एमआईएससी एउटा गम्भीर स्वास्थ्य समस्या हो । यो कोभिडको इम्युन प्रतिक्रियात्मक रोग हो ।

कोभिड–१९ विरुद्ध शरीरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरीरमै हानि गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको छ ।

एमआईएससी रोगका मुख्य लक्षणहरू सात वटासम्म हुने कान्ति बाल अस्पतालका कोराना भाइरस फोल पर्सन डा. सुमित अग्रवाल बताउँछन् । तर सातवटा लक्षणमध्ये कुनै दुईवटा मात्र देखिए त्यो एमआईएससी मानिने उनको भनाइ छ । बालबालिकामा एमआईएससी रोग लागेमा तीन दिनसम्म लगातार १०४.४ डिग्रीसम्म ज्वरो आउने हुन्छ । यस्तै रक्तचाप निकै कम हुने, जिउमा राता डाबर-खटिरा आउने, आँखा रातो हुने, हात र खुट्टाको पैताला रातो हुनेलगायत समस्याहरू देखिने गर्छन् । यसैगरी पेट दुख्ने, झाडापखाला लाग्ने, बान्ता हुने, बेहोस हुने, पिसाब कम हुने, मिर्गौला खराब हुने, जन्डिस देखिने, रगत बग्नेलगाययत लक्षण देखिने गर्छन् ।

यस्तै अन्य प्रमुख लक्षणहरूमा कम्तिमा दुईवटा अंगमा उक्त रोगले असर गरेको हुन्छ । जस्तो- मुटुको चाल घटबढ, पानी जम्ने, मुटु सुनिने र रगत पम्पिङ नगर्ने समस्या हुन्छ । यस्तै फोक्सोमा समस्या भई श्वास फेर्न गाह्रो हुने, दम फुल्ने र अक्सिजन चाहिने अवस्था हुन्छ ।

डाक्टर अग्रवालका अनुसार उल्लेखित लक्षण र कोभिडबाहेक बालबालिकामा अरु जटिल रोगहरू देखिएमा भने एमआईएससी प्रमाणित हुँदैन । एमआईएससी रोग जन्मेदेखि १९ वर्ष उमेर समूहलाई लाग्ने गरेको छ । तर ८ देखि १४ वर्ष उमेर समूहका बढी प्रभावित भएको तथ्यांक नेपालमा छ । यता अधिकांश अभिभावकले छोराछोरीको कोभिड परीक्षण नगरेकाले वा एमआईएससीको लक्षण देखिएपछि अस्पताल नलगेकाले पनि तथ्यांक धेरै हुनसक्ने जनस्वास्थ्यविद्हरूको आकलन छ ।

चिकित्सकहरूले प्रत्येक सयजना कोभिड बालबालिकामध्ये एकजनामा एमआईएससीको समस्या भेटेका छन् ।

बालबालिकामा यो समस्या देखिएपनि कोरोना भाइरस सङ्क्रमणको पाटो भने भिन्न छ । कुनै परिवारमा कोरोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको ४० दिनसम्ममा बालबालिकामा उक्त रोगका लक्षणहरू देखिएको छ । यतिसम्म कि, पहिलो लहरका बेला कोरोना भाइरस सङ्क्रमण भएका बाबुआमाका छोराछोरीलाई दोस्रो लहरका बेला पनि यो समस्या देखिएको चिकित्सकहरूको अनुभव छ ।

कोभिड संक्रमित ८० देखि ८५ प्रतिशत बालबालिका लक्षणविहीन हुन्छन् । बालबालिकामा एन्टिबडी, एन्टिजन र पीसीआरमध्येमा कुनै पनि एउटा पोजिटिभ छ भने कोभिड लागेका मानिसको सम्पर्कमा आएको साता दिनपछि पनि एमआईएससी देखिने गरेको छ ।

एमआईएससी रोग पहिलोपटक बेलायतमा पत्ता लागेको मानिन्छ । कोरोना भाइरसको पहिलो संक्रमणका बेला बेलायतमा सन् २०२० अप्रिलमा धेरै बालबालिकामा जापानको कावासाकी रोगसँग मिल्दोजुल्दो लक्षण देखियो । अस्पतालमा एक्कासि बालबालिकाको संख्या बढ्यो । समस्या पत्ता लगाउन गहिरो अनुसन्धान गर्दा उक्त रोग कोभिडको असरले गर्दा बालबालिकामा देखिएको भन्ने पुष्टि भयो । अन्ततः सन् २०२० मे मा सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले बृहत् अनुसन्धान गरेपछि कोभिडपछि हुने बालबालिकामा देखिने रोगको नाम मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) राखिएको हो ।

एमआईएससीको उपचारपद्धति महँगो हुने गरेको छ । यसको औषधि नेपालमा नबन्ने भएका कारण उपलब्धता पनि चुनौतीपूर्ण भएको स्वास्थ्य मन्त्रालयको दाबी छ । एमआईएससी भएका बालबालिकालाई उपचारका क्रममा अनिवार्य दिनुपर्ने ‘इन्ट्राभिनस इम्युनोग्लोबुलिन’ (आईभीआईजी) औषधिको एक भाइलको कम्तिमा १४ हजार र बढीमा १६ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

आमाबुबा वा परिवारका कोही पनि सदस्यलाई कोभिड लागेको छ भने या कुनै पनि बालबालिका कोभिड प्रभावित छ भने उसमा एमआईएससी रोग लाग्न सक्छ ।

सबैभन्दा बढी कोरोना प्रभावित बालबालिका उपचार गर्ने कान्ति बाल अस्पतालमा एमआईएससी रोकथामका लागि आईसीयूदेखि उपचार गर्ने सबै पद्धति अवलम्बन गरिएको निर्देशक डा. आरपी बिच्छा बताउँछन् । अस्पतालमा कोही गम्भीर बिरामी बच्चा भर्ना भए स्टान्डर्ड प्रोटोकलको मापदण्डअनुसार उपचार गर्ने गरिएको छ । कोभिड फोकल पर्सन डा. सुमित अग्रवाल पनि कान्ति बालमा एमआईएएसी व्यवस्थापन अन्य अस्पतालभन्दा प्रभावकारी रहेको दाबी गर्छन् ।

बालबालिकामा एमआईएससीको लक्षण देखिनेबित्तिकै नजिकैको बाल अस्पताल लैजान वा बाल रोग विशेषज्ञलाई देखाउन आवश्यक देखिएको छ । रोगबाट बच्न आफू र बालबालिकालाई कोराना संक्रमण हुन नदिनु नै उत्तम विकल्प भएको चिकित्सकको ठहर छ । लक्षण थाहा हुनेबित्तिकै बालबालिकालाई अस्पताल लगे वा चिकित्सकसँग परामर्श गरे शतप्रतिशत रोग निको हुने चिकित्सकको दाबी छ । आफूलाई वा कोही बालबालिकालाई लक्षण देखिँदा अभिभावकहरू ढुक्क भएर बस्नु हुँदैन । चिकित्सकहरूले भनेजस्तै आफ्ना बालबालिकामा उक्त रोगका लक्षण देखिए शीघ्र बालरोग विशेषज्ञसँग परीक्षणका लागि पुर्‍याउनुपर्छ । कोभिडको लक्षण देखिए अभिभावकले तत्काल आफू र बालबालिकाको स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।

प्रतिक्रिया