बिहीबार, वैशाख १३, २०८१

‘जन्मनेबित्तिकै किन खुवाउने आमाको दूध ?’

मीना साउँद २०७८ साउन २१ गते ८:३२

शिशु जन्मेपछि आमाको पहेंलो, बाक्लो बिगौती दूध खुवाउने

शिशुलाई दिन र रातमा गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउने

बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने, पहिलो ६ महिनासम्म आमाको दूधबाहेक अरू कुनै पनि खानेकुरा र पानीसमेत नखुवाउने

काठमाडौं । शिशुका लागि आमाको दूधको महत्त्वसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ ।

सन् १९९० मा इटलीमा सरकारी नीति निर्माताहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ र सरोकारवालालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको एक भेला भयो । उक्त भेलाले ‘इन्नोसेन्टी घोषणापत्र’ जारी गर्‍यो । उक्त भेलामा विश्वव्यापी रूपमा स्तनपान प्रवर्द्धनका लागि अगस्त १ देखि ७ तारिखसम्म ‘स्तनपान सप्ताह’ मनाउने निर्णय गरेको थियो । यसैअनुसार सन् १९९२ मा विश्वव्यापी रूपमा ‘स्तनपान सप्ताह’ मनाउन थालिएको पाइन्छ । शिशुका लागि जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक कुनै पनि किसिमको अतिरिक्त खाना र पानी आवश्यक नपर्ने र ६ महिनापछि आवश्यकताअनुसार अतिरिक्त खानासहित दुई वर्षसम्म नियमित रूपमा स्तनपान गराउन चिकित्सकहरूले सुझाव दिएका छन् । शिशुलाई जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउने गर्नाले यसले नै शिशुका लागि पहिलो खोपको काम गर्ने चिकित्सक बताउँछन् ।

बच्चा जन्मेको १ घण्टाभित्र आमाको दूध किन खुवाउने ?
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी नर्सिङ प्रमुख आशा लग्मी प्रजापतिका अनुसार बच्चा जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउने प्रकृयालाई प्रारम्भिक स्तनपान भनिन्छ । उनले भनिन्, ‘सुरुमा आमाको दूध आउनेलाई बिगौती दूध भनिन्छ । यसलाई सुरुमा हामीले नफालीकन बच्चालाई खुवाउनु पर्छ । बिगौती दूधमा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू हुने गर्दछ, त्यस कारण पनि हामीले शिशुलाई खुवाउन अति आवश्यक हुन्छ । कोभिड महामारीका बेलामा हामीले घरबाहिर जानुभन्दा घरभित्रै बसेर, हात धोएर, मास्क प्रयोग गरेर बच्चालाई दूध खुवाउँदा एकदमै राम्रो हुन्छ । सकेसम्म कम मान्छेसँग हामीले भेटघाट गर्नुपर्छ । आफ्नो बच्चाको सुरक्षाका लागि पूर्ण स्तनपान गराउन सुझाव दिन्छु ।

स्तनपानका लागि गर्भावस्थादेखि नै के-के तयारी गर्ने ?
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा. रोशनी लक्ष्मी तुईतुईका अनुसार जन्मिसकेपछि शिशुको पहिलो आहार अथवा अधिकार भनेको आमाको दूध हो । आमाको दूध राम्रोसँग आउन गर्भावती अवस्थादेखि तयारी हुनुपर्छ । तयारी भन्नाले शारीरिक तयारी, मानसिक तयारी, परिवारको साथ सहयोग अनि श्रीमान्‌को सहयोग यसका ठूला आधार हुन्छ । दूध बन्ने आमाको स्तनमा हो । स्तनमा दूध बन्नका लागि हर्मोन हुन्छ, जसमा प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको मुख्य भूमिका हुन्छ । यो दुईवटा हर्मोनले दूध बनाउँछन् तर, दूध बनाउने तयारी गर्भावस्थादेखि नै हुनुपर्छ । जब आफ्नो पेटमा बच्चा आएको थाहा हुन्छ, तब आमाले बच्चालाई आफ्नो मात्र दूध खुवाउँछु भनेर मानसिक रुपले तयार रहनुपर्छ । त्यो तयारीले हाम्रो प्राकृतिक रुपमा ‘इन्डोर्फिन हर्मोन’ बन्छ । त्यसले आमाको स्तनमा दूध बन्न उत्तेजकको भूमिका खेल्छ । त्यस्तै आमालाई परिवारका सदस्यले ‘ल है तपाईंले बच्चा जन्मिसकेपछि आफ्नो दूध खुवाउनुपर्छ’ भनेर मानसिक रूपमा तयार राख्नुपर्छ । सँगसँगै गर्भवतीलाई खानपान, आहार-विहार र आरामको पनि आवश्यकता पर्छ ।

गर्भावस्थादेखि नै स्तनपानका लागि कसरी तयारी गर्ने ?
दूध खुवाउनका लागि स्तनसँगसँगै मुन्टोको पनि तयारी गर्नुपर्छ । त्यो भनेको स्तनको मुन्टो बाहिर निस्केको हुनुपर्ने अवस्था हो । त्यसका लागि गर्भवती अवस्थाको २८ साता वा सात महिनापछि मुन्टोलाई ‘भ्यास्लिन’ वा केही नरम चिज लगाई औंलाले मालिस गर्दै बाहिर निकाल्नुपर्छ । मुन्टोको वरपर केही फोहोर छ भने सफा गर्नुपर्छ । कहीलेकाहीँ त्यो फोहोरले दूध आउने नलीलाई बन्द गरेको हुन्छ । त्यो नली बन्द नहोस् भनेर गर्भ रहेको सात महिनापछि मुन्टो नरम पार्ने, सफा गर्ने र फोहोर बाहिर निकाल्ने गर्नुपर्छ । त्यसो गरेपछि बच्चा जन्मिसके पछि राम्रोसँग दुध चुस्न सक्छ । यदि यो तयारी गरिएन भने स्तन त हुन्छ तर त्यो मुन्टोभित्र पसेको हुन्छ । त्यस्तो बेला बच्चाले दूध चुस्न सक्दैन । आमाको दूध गानिएर ठूलो हुन्छ । र, कहिलेकाही स्तन पाक्ने समस्या पनि सिर्जना हुन सक्छ । त्यो समस्या आउन नदिनका लागि मुन्टोको सरसफाइ र तयारी गर्भावस्थादेखि नै गर्नुपर्छ । यसमा गर्भवती आमाको ठूलो जिम्मेवारी हुन्छ । सरसफाइ भन्नेबित्तिकै नुहाउने सँगसँगै स्तनको पनि सरसफाइ र तयारी गर्नुपर्ने हुन्छ ।

स्तनपानसम्बन्धी जान्नै पर्ने कुराहरू
-शिशु जन्मनेबित्तिकै जति सक्दो चाँडो १ घण्टाभित्र स्तनपान गराउने ।
-शिशु जन्मेपछि आमाको स्तनबाट आउने पहिलो पहेंलो, बाक्लो बिगौती दूध खुवाउने ।
-शिशुलाई दिन र रातमा गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउने ।
-बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने, पहिलो ६ महिनासम्म आमाको दूधबाहेक अरु कुनै पनि खानेकुराहरू र पानीसमेत नखुवाउने ।
-बालबालिकालाई ६ महिना पूरा भएपछि अन्य पोषिलो वा पूरक खानाको साथसाथै २ वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउने ।

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?
१. यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वस्थ्यका मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनुपर्छ ।

२. शिशुको सम्पर्कमा आउनुअगाडि हरेकपटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

३. आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क अनिवार्य लगाउनुपर्छ ।

४.आमाले खोक्दा वा हाँच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले मिचिमिचि हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउनुपर्छ ।

५ यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउनुपर्छ ।

६. संक्रमित आमाको सम्पर्कमा आएको भुइँ, सतह तथा सामानहरूलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्नुपर्छ ।

७. सकेसम्म भिडमा नजाने । जानै परेमा जनस्वस्थ्यका मापदण्डहरू अपनाउने गर्नुपर्छ । जस्तो- मास्क लगाउने, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र अन्य व्यक्तिहरूसँग कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्छ ।

८. चिन्ता र तनावले आमाको दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहनुपर्छ ।

स्तनपान गराउनुका फाइदा
१. गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्छ ।
२. ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ ।
३. स्तन, गर्भाशय क्यान्सरको सम्भावना कम हुन्छ ।
४. बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ ।
५. स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा)

प्रतिक्रिया