बिहीबार, वैशाख १३, २०८१

टोकियो ओलम्पिकमा ७० पदकसहित चीनकाे शीर्ष स्थान कायमै

नेपालखोज २०७८ साउन २१ गते ९:१३

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ ।

अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौं स्थानमा छ । यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौं स्थानमा झरेको छ ।

उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौं, फ्रान्स छ स्वर्ण, १० रजत र नौ कास्यका साथ आठौं, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौं तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औं स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।

सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया