बिहीबार, चैत १५, २०८०

सरकारलाई विकास तथा प्रविधि समितिको निर्देशन- पुनर्निर्माणका बाँकी कार्य निर्धारित समयमै सक्नू

नेपालखोज २०७८ साउन २१ गते १८:४३

काठमाडौं । विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले २०७२ को महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ ।

समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दिगोपना, उपभोग, एवं मर्मत सम्भारको स्रोत सुनिश्चितताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताए ।

‘समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिन्छ,’ उनले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दिगोपना, उपभोग, एवं मर्मत सम्भारको स्रोत, सुनिश्तितातर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।’

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गालगायत कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताए । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए ।

त्यस्तै सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उनले बताए । सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ । त्यस्तै पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा एक हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उनले बताए । त्यस्तै सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकामा ६ हजार ६४७ वटा सकिएको छ ।

No description available.

उनले भने, ‘१ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गालगायत कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको छ, चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिन्छ, सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको छ, सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको छ, सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ,शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।’

उनले बजेटका कारण केही कामहरु ढिला भइरहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया