बुधबार, वैशाख १२, २०८१

गुरुप्रति सरोजको श्रद्धा !

‘नयाँ कलाकारहरूले त लेखक तथा निर्देशक उमेशनाथ अर्याललाई चिन्दैनन् तर जसलाई उनले कलाकार बनाइदिएका थिए उनीहरू नै अन्तिम संस्कारमा उपस्थित भएनन् ।’

नेपालखोज २०७८ साउन २१ गते १९:१८

‘उहाँले जस्तै हामीले पनि पर्थिव शरीरलाई ब्रह्मनालदेखि चितासम्म लैजान चारवटा काँध नपाउने त हैन ?’

काठमाडौं । ‘भिडदेखि भिडसम्मका निर्देशक आदरणीय गुरुवर उमेशनाथ अर्यालको सुनसानमा अन्त्येष्टि…न कलाकार, न पत्रकार, न त साथीभाइको साथ पाए उनले आफ्नो अन्तिम यात्रामा…के उहाँले गर्नुभएको योगदान बापत कमाएको ३/४ जना कलाकार र ५/७ जान आफन्त मलामी मात्र हो त ? हामीले पनि भोलि कतै यस्तै यात्रा गर्नुपर्ने त हैन ? उहाँले जस्तै हामीले पनि पर्थिव शरीरलाई ब्रह्मनालदेखि चितासम्म लैजान चारवटा काँध नपाउने त हैन ?’ फेसबुकमा यो स्टाटस थियो अभिनेता सरोज खनालको ।

उनले लेखेका हरेक शब्द-शब्दमा उनलाई भित्री मनैदेखि पीडाले चसचसी पोलेको ज्ञात हुन्छ । सन्दर्भ थियो, निर्देशक उमेशनाथ अर्यालको निधनको । ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिँजडा’, ‘यातना’ लगायत अन्य थुप्रै कालजयी टेलिफिल्महरूको लेखन एवं निर्देशन गरिसकेका नेपाली कला क्षेत्रका पुराना निर्देशक उमेशनाथ अर्यालको बुधबार निधन भयो । अर्यालको हृदयघातका कारण निधन भएको हो । तर, उनको अन्तिम संस्कारमा उपस्थित भए जम्मा ३/४ जना गनेचुनेका कलाकार र ५/७ जना आफन्त । एउटा पुरानो अनि कालजयी टेलिफिल्महरूको लेखन अनि निर्देशन गरिसकेको कलाकारको मलामीमा जम्मा ८/१० जना ? यो साँच्चिकै आश्चर्यजनक छ । यसले दुईवटा कुरा प्रस्ट हुन्छ, या त कसैले उनलाई चिन्दैनन् या नेपालमा पुराना कलाकारको महत्त्व छैन । अभिनेता सरोज खनाल भन्छन्, ‘नयाँ कलाकारहरूले त उनलाई चिन्दैनन् तर जसलाई उनले कलाकार बनाइ दिएका थिए उनीहरू नै अन्तिम संस्कारमा उपस्थित भएनन् ।’

जीवनको अन्तिम संस्कारमा पनि उनैले कलाकारको परिचय बनाइ दिएका कलाकारसमेत उपस्थित नभए पछि अभिनेता सरोज खनाल दुःखी अनि भावुक पनि भए । ‘मैले १२ बजे नै उहाँको निधन भएकोबारे पोस्ट गरेको हो । जानकारी त अलिअलि सबैलाई थियो होला । अहिलेको नयाँ पुस्ताको धेरै कलाकारहरूले त उहाँलाई चिन्दैनन् । तर पुराना पुस्ताका थुप्रै कलाकारहरूलाई उहाँले स्टार बनाइ दिनुभएको थियो,’ सरोजले नेपालखोजसँग कुरा गर्दै भने, ‘त्यसमध्यको एउटा म पनि हो । जसलाई उहाँले कलाकार बनाइ दिनुभएको थियो ती मान्छेहरूको पनि सहभागिता नदेख्दा मलाई नरमाइलो लगेको हो । नयाँ मान्छे आएनन् भन्ने मलाई कुनै गुनासो छैन तर, पुराना कलाकार प्राय: धेरैले उहाँसँग काम गरिसक्नुभएको थियो । उहाँहरू नै उपस्थित नभएपछि मलाई दुःख लागेको हो ।’

हिन्दू धर्मशास्त्रअनुसार अन्तिम संस्कारलाई धेरै महत्त्व दिइन्छ । हिन्दुहरूका निमित्त जीवनको अन्तिम संस्कार नै अन्त्येष्टि संस्कार हो । मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न गर्छन् । अन्य संस्कारजस्तै पछिका युगहरूमा यसका अनेक विधि-उपविधिहरू थपिँदै गए र यो एक स्वतन्त्र र महत्त्वपूर्ण संस्कार हुन पुग्यो ।

हिन्दूहरूका निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महत्त्वपूर्ण भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्ने गरिन्छ । हिन्दू धारणामा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो । प्रत्येक मृतकको आत्मा पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र हानि पुर्‍याउन सक्ने भएकाले यस्तो स्थानसम्म पुगोस् भनेर अन्त्येष्टि संस्कार गरिन्छ ।

अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ । पितृलोकतिर प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस् भनेर खाद्यान्नहरू, कपडाहरू र मार्गदर्शनका निमित्त गाई दान गर्ने गरिन्छ । नेपालखोजका तर्फबाट पनि वरिष्ठ लेखक तथा निर्देशक उमेशनाथ अर्यालप्रति हार्दिक श्रद्धाञ्जली ।

May be an image of 1 person, standing and outdoors
तस्बिर : सरोज खनालको फेसबुकबाट


प्रतिक्रिया