नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा
काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर उनले राजिनामा पत्र बुझाएका हुन्। केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्ति पाएका थिए।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएर नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट विदा लिएको बताएका छन् । साथै उनले जिम्मेवारीमा रहुञ्जेल आफूलाई सहयोग प्रदान गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।
आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, लामो समयदेखि हप्ताको केही घण्टा मात्र उत्पादनमा सीमित रहेको एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा समाचार बुलेटिनसहित दैनिक सात आठ घण्टाको कार्यक्रम उत्पपादनसहित चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने, संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले वृद्धि गर्ने जस्ता कार्यहरू भएको विष्टले बताएका छन् ।
त्यस्तै, समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि आदि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा परिवर्तन गरिएको र यसले संस्थालाई मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउनुका साथै कर्मचारीमा उत्प्रेरणा बढाउन सहयोग पुगेको उनले बताए । समग्रमा यो अवधिमा नेपाल टेलिभिजनको विषयवस्तु, प्रस्तुति, प्रविधि र व्यापारमा भएको उल्लेखनीय सुधारले नेपाल टेलिभिजनको आर्थिक अवस्था सुदृढ हुनुका साथै लोकप्रियता र साख बढेको उनले विश्वास व्यक्त गरे ।
नेपाल टेलिभिजनले सुधारका यी प्रक्रियामा नयाँ इँटा थप्दै यसै आर्थिक वर्षमा विश्वमा नेपालको उपस्थिति अझ बलियो बनाउन एनटीभी वल्र्ड सञ्चालन गर्ने तयारी भएको र शैक्षिक र मौसम च्यानलसमेत सञ्चालन गर्ने योजना पनि अघि बढेको उनले बताएका छन् । सिंहदरवार प्लाजामा अडिटोरियम हलसहितको बहुतले भवन निर्माणको साथै एनटीभीलाई विपतसम्बन्धी विषयको कार्यक्रम उत्पादन र प्रसारणमा नेतृत्वदायी र उदाहरणीय च्यानल बनाउन जापान सरकारको प्राविधिक सहयोगमा नयाँ परियोजना सञ्चालनको तयारी पनि अघि बढिसकेको उनले बताएका छन् ।
प्रतिक्रिया