शुक्रबार, जेठ ४, २०८१

खुल्न थाले हुम्लाका विद्यालय !

नेपालखोज २०७८ साउन २२ गते ७:५४

हुम्ला । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय पुन: सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।

अदानचुलीभित्र रहेका सबै विद्यालयहरु बिहीबारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेलले बताए ।

‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ,’ उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ छ ।

लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन् ।

ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ । यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने भन्ने अन्योल कायमै छ । –रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया