सरकारको घोषणाअनुसार काम भएन : दाहाल (भिडियोसहित)

नेपालखोज २०७८ साउन २४ गते १५:०३

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यसवरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणाअनुसारको काम तीव्र बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरु त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईंहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष दाहालले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफ्नो पार्टीका तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि अध्यक्ष दाहालले बताए ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने दाबी गर्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया