शनिबार, असार २१, २०८२

आन्तरिक मूल्यांकनबाट दिने नतिजाले भविष्यमा देश र समाजलाई ठूलो क्षति

नेपालखोज २०७८ साउन २४ गते १७:३७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । एसईईको नतिजा पश्चात् आइतबार संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए ।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनले बताए । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए । उनले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गरे ।

उनले भने, “यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ, तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढेपनि पास र नपढेपनि पास गर्दै उ हाईस्कूलसम्म पुग्छ ।”

उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए । आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत उनले बताए । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकाश प्रक्रियामा गम्भीर असर पार्ने बताए । यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा व्यक्त गरे ।

त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताएका छन् । अध्यक्ष पौडेलले देशैभरि परीक्षा संचालन हुने केन्दहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा संचालन गर्न सकिने विश्वाश ब्यक्त गरे । कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उनले बताए । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरेको भएपनि एमसीसीले मन्त्रालयमार्फत् परीक्षा हालका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उनले जनाए ।

उनले भने, “पहिलो पटक परीक्षा तालिका सार्वजनिक गरेपछि दोश्रो चरणको लकडाउन भयो, त्यसपछि सबै अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन गर्न लाग्दा कोभिडको तेस्रो लहरको शंक ागर्न थालियो, तर अवस्था त्यस्तो देखिँदैन, केही घटबढ भइरहेको छ, समाजमा एक किसिमको त्रास बढ्दै गएकोले हामी अन्तिम तयारी हुँदाहुँदै पनि परीक्षा सरकारको निर्देशनपछि परीक्षा रोकियो ।”

यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेबाट हुने भनि तोकिएको थियो । गत वर्ष पनि कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया