शनिबार, जेठ ५, २०८१

लुम्बिनी प्रदेशमा कांग्रेस-माओवादी सहमति- आलोपालो नेतृत्व

नेपालखोज २०७८ साउन २८ गते ९:०९

रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबीच सहमति भएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका छन् ।

जनता समाजवादीलाई सरकारमा सहभागी गराउने र राष्ट्रिय जनमोर्चा भने सरकारबाहिरै बसेर सहयोग गर्ने निर्णय भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि कांग्रेस दल नेता कनोडियाले नेतृत्व गर्ने सहमति भएको छ । केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक-एकजना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कनोडियाले बताए ।
-फाइल तस्बिर

प्रतिक्रिया