बिहीबार, चैत १५, २०८०

कति खाने नुन ?

भारत र बेलायतका फास्टफुड स्वास्थ्यका लागि घातक, नुनको मात्रा अत्यधिक

नेपालखोज २०७८ साउन ३० गते १९:२२

अन्य देशको तुलनामा भारतमा उत्पादन हुने फास्टफुड नेपालीले बढी उपभोग गरिरहेका छन् ।

काठमाडौं । दैनिक भान्सामा नभइ नहुने खाद्य परिकार नुन हो । स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्त्वपूर्ण तत्त्व हो । विश्व स्वास्थ्य संगठनका अनुसार दिनमा एक व्यक्तिले पाँच ग्रामभन्दा बढी नुन खाए स्वास्थ्यका लागि खतरापूर्ण हो । बेलायतस्थित एक्सन अन साल्टले भर्खरै स्वस्थ्यवर्द्धक खाद्य सामग्री बनाउन दाबी गर्ने विभिन्न कम्पनीका एक सय १९ प्याकेटमा एक अनुसन्धान गरेको छ । ४३ प्रकारका उत्पादनमा नुन, फ्याट र चिनीको मात्रा चाहिनेभन्दा बढी भएको पत्ता लाग्यो । फास्टफुडजन्य प्याकेटमा स्वास्थ्यका लागि राम्रो भनेर लेखिए पनि व्यवहारिक रूपमा गुणस्तरीयता नभेटिएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

यस्तै लन्डनको क्विन मेरी विश्वविद्यालयले पनि स्वस्थबर्द्धक भनिएका फास्टफुड प्याकेजिङमा अनुसन्धान गर्‍यो । नुनको मात्रा आवश्यकताभन्दा बढी भएको प्रमाण फेला पर्‍यो । अनुसन्धानकर्ताले हेल्दी स्न्याक्स भनेर लेखिएको सय ग्राम चिप्सको प्याकेटमा ३ दशमलव ९ ग्राम नुन फेला पारेका छन् । विश्व स्वास्थ्य संगठनले दिनमा पाँच ग्राम नुन मात्र खान सल्लाह दिइरहेका बेला सय ग्राम चिप्समा करिब ४ ग्राम नुन राखिनु स्वास्थ्यका लागि घातक हुने मेरी विश्वविद्यालयले निष्कर्ष निकालेको छ । एउटा मानिसले एउटा सानो चिप्समा ४ ग्राम नुन सेवन गर्छ भने दिनभरि उसले चाहिनेभन्दा बढी नुन खाने गरेको विश्वविद्यालयको ठहर छ । बेलायतमा पाइने खाजाजन्य प्याकेटहरू स्वास्थ्यका दृष्टिकोणले ठीक नभएको मेरी विश्वविद्यालयको निष्कर्ष छ ।

यता नेपाल र छिमेकी देश भारतमा उत्पादन हुने खाजाजन्य सामग्रीको अवस्था पनि उस्तै छ । अन्य देशको तुलनामा भारतमा उत्पादन हुने फास्टफुड नेपालीले बढी उपभोग गरिरहेका हुन्छन् ।

एक वैज्ञानिक संस्थाले हालै गरेको अनुसन्धानअनुसार भारतीय बजारमा उत्पादन हुने जंक फुडमा आवश्यकताभन्दा बढी नुन फेला परेको छ । उक्त संस्थाले प्रसिद्ध ब्रान्डको पिजा, बर्गर, चिप्स, तयारी चाउचाउ, स्यान्डविचलगायत खाद्य सामग्रीको प्याकेट नमुना संकलन गरी परीक्षण गरेको थियो । अनुसन्धानले नुन आवश्यकताभन्दा बढी वा खतरनाक स्तरमा राखिएको पत्ता लगाएको छ ।

उक्त अनुसन्धानमा भारतमा धेरै बिक्री हुने मल्टी ग्रेन चिप्स र ब्रेड स्न्याक्स पनि सामेल गरिएको थियो । उक्त अनुसन्धान गर्न दिल्लीका विभिन्न बजारबाट ३३ वटा नमुना संकलन गरिएको थियो । ३३ मध्ये १४ नमुनाहरू चिप्स, सुप र नमकिनको लिइएको थियो । १९ नमुना भने बर्गर, पिजा र फ्रेन्च फ्राइजका थिए । ३० ग्रामको मल्टी ग्रेन चिप्समा ५ दशमलव १ ग्राम नुन राख्ने गरिएको अनुसन्धानले देखाएको छ । २ सय ३० ग्राम आलुको भुजियामा ७ ग्राम नुनको मात्रा राखेको पाइयो । सबै खानामा मिलाएर एक दिनमा न्यूनतम ५ ग्राम खानुपर्ने हुन्छ । तर उक्त परिमाणभन्दा बढी नुन साना स्न्याक्स प्याकेटमा राख्नाले मानव स्वास्थ्यमा कतिसम्म असर गर्ला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै ७० ग्राम चाउचाउको प्याकेटमा ५ दशमलव ८ ग्राम, तयारी वा इन्स्टान्ट सुपमा ११ दशमलव ७ ग्राम नुन भेटिएको छ । जुन परिमाणको नुन दुई दिनमा खानुपर्छ त्योभन्दा पनि बढी नुन सुपमा पाइएको हो । स्वादको चक्करमा मानिसले दिनभरि विभिन्न खानाका परिकारमा कतिसम्म नुन खाँदोरहेछ यी उदाहरणहरूबाट प्रष्ट हुन्छ ।

स्वाद खोजेर धेरै नुन खाँदा मानिस विभिन्न रोगको शिकार हुने चिकित्सकहरू बताउँछन् । नुनको सेवन स्वाद र दिमागसँग पनि जोडिएको हुन्छ । दिनमा ५ ग्रामभन्दा बढी नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने, मिर्गौलामा असर गर्नेजस्ता समस्या हुनसक्छ । यस्तै कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने र मांसपेसी खुम्चिनमा पनि समस्या हुने गर्छ । राम्रो स्वास्थ्यका लागि दिनमा बढीमा एक चम्चा र धेरै कम नुन पनि सेवन गर्न नहुने चिकित्सकको सल्लाह छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया