बुधबार, वैशाख १९, २०८१

सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडितलाई समस्या

नेपालखोज २०७८ साउन ३१ गते ९:१९

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनर्निर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मंगला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना कागजमै सीमित बनेको छ । प्रशासनको ढिलासुस्तीले घर बनाइसकेका मंगला र धौलागिरिका लाभग्राहीले दोस्रो र तेस्रो किस्ताबापतको अनुदान पाउन नसकेको गुनासो गरेका छन् ।

ताकमका लालकुमारी कमिनी, डिलु रसाइली, गुनराम हर्मेल, प्रेमबहादुर नेपाली, बालमती विक, मनकुमारी थापालगायतका पहिरोपीडितले असारमै माग गरेको दोस्रो र तेस्रो किस्ता अनुदान नपाएको गुनासो गरे । प्रशासनले अनुदान दिन ढिलाइ गर्दा घर बनाउँदा लागेको ऋणले चिन्तामा परेको उनीहरुले बताए । ‘बर्खाअघि नै सक्ने भनेर बनाउन थालेको घर अनुदान आउन ढिला गरेपछि रोकिएको छ,’ पहिरोपीडित मनमाया विकले भनिन्, ‘ज्याला दिने, काठ, सिमेन्ट, जस्तापाटा किन्ने पैसा नभएपछि काम रोकिएको छ ।’

धौलागिरिका ३९ र मंगलाका ११ जना पहिरोपीडितलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउन गाउँपालिकाले गत असारमै प्रशासनमा सिफारिस गरेको थियो । कार्यविधिअनुसार पहिलो किस्तावापत गाउँपालिकाले सम्झौतालगत्तै सबै लाभग्राहीको खातामा रु ५० हजारका दरले अनुदान पठाएर पुनर्निर्माण सुरु गराएको थियो ।

प्रशासनले दोस्रो र तेस्रो किस्ताबापतको चार लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न ढिलाइ गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बर्खाका कारण अनुगमन र प्राविधिक मूल्याङ्कन गर्न नसक्दा पहिरोपीडितका निजी आवास पुनर्निर्माणको अनुदान वितरण गर्न ढिलाइ भएको बताए । ‘धौलागिरि र मंगलाले मात्रै दोस्रो-तेस्रो किस्ता मागेका छन्, अरुले सम्झौता नै गरेका छैनन्,’ उनले भने, ‘सम्झौता गराउन ताकेताका साथै बनिसकेका घरको मूल्यांकनका लागि परिचालन हुने प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा प्रशासनबाट भुक्तानी सुरु गर्छौं ।’

मंगलामा सम्झौता गरेका १८ मध्ये ११ जनाले घर निर्माण सकेर दोस्रो र तेस्रो किस्ता मागेका छन् । रघुगंगाका नौ जनासँग सम्झौता गरेर ५० हजार रुपैयाँका दरले पहिलो किस्ता अनुदान पठाइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । नौ जनासँग सम्झौता गरेको बेनी नगरपालिकाले ३७ जनासँग सम्झौता गरेर अनुदान पठाउने तयारी गरेको अधिकृत युवराज थापाले बताए । अन्नपूर्ण गाउँपालिकामा कायम भएका १९ जनासँग भदौमा सम्झौता गरेर पहिलो किस्ता अनुदान पठाउने तयारी गरेको छ ।

मालिका गाउँपालिकाले ४८ जनासँग सम्झौता गरेर रु ५० हजारका दरले अनुदान वितरण गरेको छ । २०७७ जेठ ३० गतेदेखि असोज मसान्तसम्म बाढी र पहिराले घरबास गुमाएकालाई अनुदान उपलब्ध गराउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७८ वैशाख अन्तिम साता एक करोड आठ लाख ९७ हजार रुपैयाँ पठाएको थियो ।

बाढीपहिराले पूर्ण क्षति भएका घर पुनर्निर्माणका लागि सरकारले २०७६ मा हिमाली जिल्लामा पाँच लाख र आवश्यकतानुसार घडेरी खरिद गर्न चाहनेलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । २०७७ फागुन १३ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा म्याग्दीका पाँचवटा गाउँपालिकाले १० प्रतिशत र बेनी नगरपालिकाले १५ प्रतिशतका दरले अनुदान उपलब्ध गराउने निर्णय भएको थियो । तीस प्रतिशत साझेदारी गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकार र नगरपालिकामा ५५ तथा गाउँपालिकामा ६० प्रतिशत लागत बेहोर्ने निर्णय गरेको संघीय सरकारले थप अनुदान पठाएको छैन ।

पूर्ण क्षति भएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले धौलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चारवटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । मोनाले बनाएका बाहेकका घर पुनर्निर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन १० करोड ३५ लाख रुपैयाँ बजेट माग गरिएको थियो । स्थानीय तहसँग अनुदान सम्झौता गर्ने लाभग्राहीले तोकिएको मापदण्डअनुसारको घर दुई वर्षभित्र निर्माण गरिसक्नुपर्नेछ ।

गत बर्खामा म्याग्दीमा पहिराका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । यसपालिको बर्खामा दुईजनाको मृत्यु र करिब १०० घर भत्किएका छन् । ८१ वटा बस्तीमा ८२१ घर पहिरोको जोखिममा छन् । जोखिममा परेका घर स्थानान्तरण र पुनर्निर्माणको माग भने सम्बोधन भएको छैन । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया