भूतपूर्व गोर्खा सैनिकको माग पूरा गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राख्दै लामो समयदेखि पूर्व वेलायती सेनाले गरेको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई सुझाएको छ ।
पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा आज (आइतबार)जारी विज्ञप्तिमा समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने उल्लेख छ । विज्ञप्तीमा बेलायती सेनामा रहँदा वीरताको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकले उठाएको समानताको माग जायज भएको उल्लेख छ ।
यस्तै विज्ञप्तीमा तत्कालिन एमाले नेतृत्वको सरकारले भूपू गोर्खा सैनिकका सरोकारलाई संवोधन गर्न बेलायत सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ । नेपाल र बेलायतबीचको दुईसय पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै भूतपूर्व गोर्खा सैनिकको माग पूरा गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल थाल्नुपर्नेमा एमालेको जोड छ ।

प्रतिक्रिया