बिहीबार, जेठ ३, २०८१

कैलालीको ऐतिहासिक गर्भा दरबार जीर्ण बन्दै

नेपालखोज २०७८ भदौ २ गते ८:२९

कैलाली । कैलालीको चुरे गाउँपालिका ४, खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

सय वर्ष पुरानो दरबारको संरक्षण गर्न कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण मल्लले बताए । कलाकृतिले भरिएको भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ छ ।

२०३२ सम्म दरबारमा चहलपहल हुँदै आएको थियो । खड्कका छोरा बहादुरपछि उनका साहिँला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन् । विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन् । हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनीमा फैलिएको दरबारको तीन खण्ड र तीन तला छ । सुरक्षाका लागि दरबारको भुइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासकहरू खैरालाको दरबारबाट बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी र तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताए । दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताए । आर्थिक वर्षको अन्त्यमा बजेट निकासा भएकाले पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उनको दाबी छ । गत वर्ष पुरातत्त्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम सुरु गरिने बताइएको छ । -रासस

प्रतिक्रिया