बुधबार, वैशाख १९, २०८१

‘नेपाल धार्मिक सहिष्णुताको अनुकरणीय नमुना’

नेपालखोज २०७८ भदौ ६ गते ८:४०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । जनै पूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धर्म, संस्कृति र परम्पराजस्ता अमूल्य निधिको जगर्ने गर्नु सबैको दायित्व रहेको बताए ।

‘जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौथरी गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामा पनि स्थान पाएको छ,’ सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमुना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।’

कोभिड-१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउन समस्त प्रदेशवासीमा उनले सन्देशमार्फत अनुरोध गरेका छन् । -रासस

प्रतिक्रिया