शनिबार, वैशाख २२, २०८१

महिलाले ‘जिन्स पाइन्ट’ लगाउन नपाउने !

नेपालखोज २०७८ भदौ ९ गते ११:२४

काबुल । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि दैनिजसो डरैडरको वातावरण छ । सन् १९९० देखि लगभग १० वर्षसम्म तालिबानले अफगानिस्तानमा शासन गर्दा कठोर किसिमको नियम बनाएको थियो । गल्ती गर्नेको हातखुट्टा काटिदिने, ढुंगाले हानेर मार्ने र कोर्रा हानेर कठोर यातना दिने गरिन्थ्यो । आगामी तालिबानी शासनकाल पनि त्यस्तै हुने भयले आजभोलि हजारौं मानिसले अफगानिस्तान छाड्दै छन् ।

वर्तमान तालिबान शासनमा सार्वजनिक भइरहेका नियमहरू आश्चर्य तथा डरलाग्ने किसिमका छन् । अफगानिस्तानमा पछिल्लो समय विभिन्न डरलाग्दा भिडियो तथा तस्बिरहरू सार्वजनिक भइरहेका छन् । भर्खरै तालिबानसँग डर मानेको महिला तथा बालबालिकाको एक तस्बिर सार्वजनिक भएको छ ।

सन् १९९० को दशकमा अफगानिस्तानमा शासन गर्दा तालिबानी हुकुमी शासन चल्ने गर्थ्यो । महिलालाई अंगभंग हुने गरी यातना दिन्थ्यो । महिलालाई बाहिरी कामकाज गर्ने र एक्लै हिँड्ने पनि अनुमति थिएन । दुई साताअघि सत्ता कब्जा गरेको केही दिनपछि तालिबान नेताहरूले महिलालाई स्वतन्त्रता दिने बताउँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अन्तर्वार्ता पनि दिएका थिए । तर, त्यो प्रतिबद्धता जिम्मेवार नेताको मुखमै सीमित भएको छ । तालिबानहरू पुरानै ढर्रामा फर्किने संकेत देखिँदै गएका छन् ।

वर्तमान तालिबान नेतृत्वको सरकारले महिलालाई सरकारी, गैरसरकारी तथा उद्योगलगायत क्षेत्रमा काम गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । महिलालाई काममा जान मात्रै हैन, पार्लर जान र सञ्चालन गर्न पनि रोक लगाइएको छ । पहिरनमा अफगानी महिलाले अबदेखि जिन्सको पाइन्ट लगाउन नपाउने नियम बनाइएको छ । अफगानिस्तान सरकारले अहिलेसम्म नयाँ कानुन त बनाएको छैन । तर पहिरनलगायत सामान्य केही काममा भने मौखिक प्रतिबन्ध लगाएको हो ।

अफगानिस्तानमा महिलालाई लगाउन प्रतिबन्ध लगाइएको जिन्स पाइन्टको किनमेल बजारमा घटेको छ भने टाउको ढाक्ने स्कार्फ र पूरा बाहुलावाला कपडाको किनमेल बढेको छ । तालिबानको पहिलो शासनकालमा भनेको नमान्ने महिलालाई कोर्रा हानेर यातना दिने गरिन्थ्यो । वर्तमान समयका विभिन्न क्रियाकलाप हेर्दा त्यो कठोर नियम वर्तमान सरकारले बनाउने आकलन गरिएको छ ।

सत्ता फेरबदल भएपछि अफगानिस्तानमा बजार-पसल त खुलेका छन् तर, महिलाको चहलपहल शून्य जस्तै देखिएको छ । बजार निस्किने सीमित महिला पनि पूर्ण रुपमा बुर्का लगाएको देखिन्छन् । तालिबान नेतृत्वको सरकारले महिलाले पूरा बुर्का लगाउनुपर्ने र दाजुभाइ, बुबा र पतिको साथमा बजार निस्किनुपर्ने भन्ने नियम भने बनाएको छैन ।

तालिबान सत्तामा आएसँगै अफगानी महिला डरको छायामा छन् । उनीहरूले आगामी दिनमा कस्तो नियम लागु होला भन्ने त्रासमा जीवन गुजारिरहेका छन् । अधिकांश सचेत महिला त वर्तमान शासकसँग अधिकारको पर्खाइमा पनि छन् ।
‘बिहानीले दिनको संकेत गर्छ’ भनेजस्तै जिन्सको पाइन्ट नै लाउन नपाउने उर्दी जारी गरेको तालिबान नेतृत्वको सरकार आगामी दिनमा महिलाविरुद्ध झन् कठोर हुने देखिन्छ ।

प्रतिक्रिया