शुक्रबार, वैशाख २१, २०८१

काबुल विमानस्थलबाहिर आत्मघाती हमला : १३ को मृत्यु, ६० घाइते

नेपालखोज २०७८ भदौ ११ गते ५:३८

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलनजिक भएको दुई आत्मघाती हमलामा चार अमेरिकी सैनिकसहित कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी व्यक्ति घाइते भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यति बेला उक्त विमानस्थल अमेरिकी सेनाकै नियन्त्रणमा छ । तालिबानीहरुको डरले अफगानिस्तान छाड्न चाहने हजारौं मानिस विमानस्थलको भित्र-बाहिर देखिन्छन् । तालिबानले यो हमलाको निन्दा गरेको छ । घटनाको जिम्मेवारी चरमपन्थी मुस्लिम संगठन आईएसआईएसले लिएको छ ।

विमानस्थलबाहिर विदेशिन प्रतीक्षारत एक अफगान नागरिकको हवाला दिँदै समाचारमा जनाइएअनुसार एउटा बिस्फोट विमानस्थलमा प्रवेश गर्न प्रतीक्षारत मानिसहरुबीच भएको थियो भने अर्को बिस्फोट त्यहीँको एक होटेलनजिक भएको थियो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटमा अमेरिकी सैनिक मारिएको कुराको पुष्टि गरिसकेका छन् ।

तालिबानको प्रतिक्रिया
काबुल विमानस्थलबाहिर भएको यो हमलाको निन्दा गर्दै तालिबानी प्रवक्ता जबीहुल्ला मुजाहिदले घटना अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको दाबी गरेका छन । प्रवक्ता जबीहुल्लाले त्यहाँको सुरक्षामा पूरा ध्यान दिइने पनि बताएका छन् ।

एक अमेरिकी अधिकारीले काबुल विमानस्थलबाहिर भएको यो हमलाका पछाडि इस्लामिक स्टेट जिम्मेवार रहेको बताएका छन् । इस्लामिक स्टेट, तालिबानीहरुभन्दा पनि चरमपन्थी समूह हो । इस्लामिक स्टेटले गैरसैनिक नागरिकहरुमाथि हमला गरेको अनेकौं घटना छन् ।

आईएस-आईएसले लियो जिम्मेवारी
आतंककारी समूह आईएस आईएसको समूहको टेलिग्राम एकाउन्टमा काबुल विमानस्थलबाहिर भएको यो दोहोरो विस्फोटको जिम्मेवारी लिएको छ ।

सुरक्षा अलर्ट जारी
अमेरिकाले काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको यो विस्फोटपछि अमेरिकी नागरिकलाई विमानस्थलको यात्रा नगर्न र विमानस्थलको प्रवेशद्वारबाट टाढै रहन सुरक्षा अलर्ट जारी गरेको छ । काबुल विमानस्थलबाहिर बिहीबार साँझ भएको दुई ठूला विस्फोटमध्ये पहिलो विस्फोट विमानस्थलको पूर्वी गेटमा र अर्को बैरन होटेलनजिक भएको बताइएको छ ।

काबुल विमानस्थलमा अफगानिस्तान छोड्न चाहने स्वदेशी-विदेशीको ठूलो भिड जम्मा भएपछि पश्चिमी देशहरुले त्यहाँ हमला हुन सक्ने आशंका जनाएका थिए । उनीहरुले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन अपिलसमेत गरेका थिए । तालिबानले भने अफगान नागरिकहरुलाई विदेश जान प्रतिबन्ध लगाएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले काबुल विमानस्थलमा भएको उक्त आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले यो घटना अफगानिस्तानको अस्थिर स्थितिको उदाहरण भएको बताएका छन् । गुटरेसले यो घटनाले अफगानिहरुलाई सहायता र समर्थन जारी राख्नुपर्छ भन्ने कुरालाई बल पुर्‍याएको समेत जनाएका छन् ।

अमेरिका, फ्रान्स, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो), बेलायत, भारत, तालिबानसहित सबैले यो घटनाको विरोध गरेका छन् । काबुल विमानस्थलबाहिर गरिएको यो हमलापछि पनि त्यहाँबाट मानिसहरुको उद्धार जारी रहने बेलायतले जनाएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
तस्बिर : सीएनएन

प्रतिक्रिया