शुक्रबार, वैशाख २१, २०८१

के-हो आईएसआईएस-के अर्थात् खोरासान गुट ?

नेपालखोज २०७८ भदौ ११ गते २३:३७

काबुल । इरान, तुर्कमेनिस्तान तथा अफगानिस्तानको सीमानामा खोरासान नामको एउटा क्षेत्र छ । उक्त क्षेत्रमा सन् २०१२ मा स्थानीय लडाकुहरुले एउटा गुट बनाएका थिए ।

सन् २०१४ मा यो गुट आईएसआईएसप्रति आकर्षित भयो र उनीहरु इस्लामिक स्टेटको अभियानमा सामेल भए । आईएसआईएसका करिब २० वटा गुट छन् । जसमा खोरासान गुटलाई सबैभन्दा खतरनाक मानिन्छ । दक्षिण एसियामा खोरासानको नेटवर्क मजबुत छ । आईएसआईएसको खोरासान समूह अहिले सर्वाधिक सक्रिय छ । यो संगठनले तालिबान छाड्ने लडाकुहरुलाई आफ्नो संगठनमा भर्ती गर्दै आएको छ ।

तालिबान छोडेर आउने लडाकुहरुलाई यसले सोझै कमान्डर बनाइदिन्छ । आईएसआईएस खोरासान समूहले उज्बेकिस्तान, ताजिकिस्तान, वीगर तथा चेचेन्याका युवाहरुलाई भर्ती लिन्छ । खोरासान गुट अफगानिस्तानलाई नयाँ अखडा बनाउने प्रयासमा छ । आईएसआईएस खोरासान गुटको गठजोड अलकायदासँग छ । यो समूहमा अलकायदाबाट प्रशिक्षित लडाकुहरु पनि छन् ।

तालिबानको दुस्मन शक्ति
काबुल विमानस्थलमा हिजो (बिहीबार) गरिएको आत्मघाती हमलाका लागि जिम्मेवारहरु अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित छन् । यो एउटा आतंककारी संगठन हो जसलाई इस्लामिक स्टेट खोरासान (आईएसआईएस-के) का रुपमा चिनिन्छ । हालका महिनाहरुमा आईएसआईएस-केबाट भएका हमलाको गतिबाट धेरै मानिसहरु चिन्तित छन् । आईएसआईएस-के को स्थापना ६ वर्षअघि भएको हो र सत्ता तथा प्रभुत्वको लडाइँमा यसले तालिबानलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वी वा दुस्मन मान्छ ।

द गार्जियनको एक रिपोर्टअनुसार आईएसआईएस-के को मान्यताअनुसार अफगानिस्तानको राजनीतिमा तालिबानले अमेरिकासमक्ष आत्मसमर्पण गरेको छ । अमेरिकासँग कुराकानी गर्न चाहनु, पर्याप्त कठोरताका साथ इस्लामिक कानुन लागु गर्न नचाहनु तथा अन्य कतिपय व्यवहारले तालिबानीहरुले इस्लामिक विश्वास त्यागिसकेको ठहर इस्लामिक स्टेट खोरासानको छ ।

प्रतिक्रिया