शनिबार, वैशाख २२, २०८१

५ लाख बढी अफगान शरणार्थीको व्यवस्थापन गर्ने राष्ट्रसंघको तयारी

नेपालखोज २०७८ भदौ ११ गते २३:००

काठमाडौं । सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ शरणार्थीमामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग अबको चार महिनाभित्र लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापनका लागि तयारी गरिरहेको बताए ।

अफगानिस्तानमा तालिबान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिबान समूहले यस पहिले देखाएका अतिवादी क्रियाकलापका कारण अफगानिस्तानमा रहेका विदेशीका साथै स्वदेशी आम नागरिक तालिबानले गर्नसक्ने कठोर शासनको कल्पना गर्दै काबुल लगायत अफगानिस्तानका प्रमुख सहरबाट बाहिरिने क्रम जारी छ ।

यद्यपि कतिपय मुलुकले सुरक्षाको समस्या देखाउँदै उद्धार कार्यलाई स्थगित गरेका छन् । तालिबान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने सञ्चारमाध्यममार्फत् सार्वजनिक अभिब्यक्तिहरूमा जनाएको छ ।

तालिबानले अफगानिस्तानमा सरिया कानुनलाई मानेर बस्ने जोसुकैलाई पनि अफगान भूमि सुरक्षित रहेको बताएको छ ।

प्रतिक्रिया