शनिबार, वैशाख २२, २०८१

काबुल विमानस्थल आक्रमण : अहिलेसम्म हामीलाई थाहा भएका कुरा के-के हुन् ?

नेपालखोज २०७८ भदौ १२ गते ६:५८
आक्रमणमा घाइते

काठमाडाैं । काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार दुईवटा शक्तिशाली बम विस्फोट भए । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ९० जनाको ज्यान गयो भने १५० जना घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामा ती घटना भएका हुन् ।

अहिलेसम्म ती घटनाबारे थाहा भएका कुराहरू यस प्रकार छन् :

विमानस्थलबाहिर विस्फोट

पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो । सो होटेल ब्रिटिश अधिकारीहरूले यूके जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न प्रयोग गरिरहेका छन् ।

पहिलो बम विस्फोटन भएपछि बन्दुकबाट गोली चलाइएको र त्यसपछि विमानस्थलको एउटा प्रमुख प्रवेशद्वारनजिकै दोस्रो विस्फोटन भएको थियो।

समाचारहरूका अनुसार दोस्रो विस्फोट फोहोर पानी बग्ने ढलनजिकै भएको थियो र त्यहाँ अफगान नागरिकहरू कुरिरहेका थिए।

विस्फोटका कारण केही मानिसहरू ढलको पानीमा पुगेका थिए । अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए । आबी गेटमा हालै अमेरिकी र ब्रिटिश सेनाले पहरा दिन सुरु गरेका थिए ।

कसैले एक आक्रमणकारीले भिडमा गोली चलाएको बताए पनि समाचारमा तालिबान सुरक्षाकर्मीले हावामा गोली चलाएको बताइएको छ ।

मृत्यु सङ्ख्या

आक्रमणमा मारिने अमेरिकी र तालिबानसहित अफगान नागरिकको कुल सङ्ख्या पुष्टि भइसकेको छैन। त्यो अझै बढिरहेको छ।

अमेरिकी रक्षा मन्त्रालयले १३ सैनिक मारिएको र १५ जना घाइते भएको बताएको छ । काबुलका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बीबीसीलाई कम्तीमा ९० जना मारिएको र १५० घाइते भएको बताएका छन् ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा घाइतेहरूलाई गाडामा हालेर उपचारका लागि लगिएको देखिएको छ । सो स्थानमा उद्धारको आशामा ठूलो भिड जम्मा भएको थियो ।

कसले आक्रमण गरेको हो ?

आक्रमणको जिम्मा ‘आईएसआईएस-के’ समूहले लिएको छ । पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स भएको सो समूह अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो ।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो। इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा यसको गठन गरिएको हो । बीबीसी

प्रतिक्रिया