शनिबार, वैशाख २२, २०८१

कोरोना कहर : अमेरिकामा दिनहुँ एक लाख संक्रमित, भरिए अस्‍पतालका शवगृह

नेपालखोज २०७८ भदौ १३ गते ९:३७

काठमाडौं । संसारका अनेकौं मुलुक अहिले कोरोनाको डेल्‍टा भेरियन्टको चपेटामा छन् । शक्तिशाली र साधन-सम्पन्न देशहरुले यसको मार बढी झेलिरहेका छन् । ताजा तथ्यांकअनुसार अमेरिका, ब्राजिल, रूस आदि मुलुकका अस्पताल बिरामीले भरिएका छन् । दैनिक सयौंले ज्यान गुमाइरहेका छन् ।

यतिबेला अमेरिकाको फ्लोरिडा कोरोनाको हटस्‍पट साबित भइरहेको छ । समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) को एक रिपोर्टमा जनाइएअनुसार मध्‍य फ्लोरिडामा कोरोनाका कारण ठूलो संख्यामा मानिसहरुले प्राण त्यागिरहेका छन् । कोरोना संक्रमितहरुको बढ्दो मृत्युका कारण अस्पतालका शवगृह र अन्तिम संस्कार गर्ने स्‍थलहरुको क्षमतासमेत प्रभावित भएको छ ।

अमेरिकाका अस्पतालमा कोरोनाका बिरामीको संख्याले नयाँ रेकर्ड बनाइरहेको छ । अहिले अमेरिकाका अस्पतालहरुमा कोरोना संक्रमितहरुको संख्या एक लाखभन्दा बढी भइसकेको बताइन्छ । गएको जनवरीपछि देखिएको यो सर्वाधिक संख्या हो । वसिंटन पोस्टको रिपोर्टअनुसार अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित फ्लोरिडाको अस्पतालहरुमा छन् । यो राज्यमा १७ हजारभन्दा बढी संक्रमित अस्पताल भर्ना गरिएका छन् । त्यसपछि सर्वाधिक संक्रमित भएको राज्य टेक्सास हो जहाँ १४ हजारभन्दा बढि कोरोना संक्रमित अस्पतालमा जीवन र मृत्युको दोसाँधमा छन् ।

अमेरिकाका अस्पतालहरुमा कोरोना संक्रमित बालबालिकाहरुको संख्याले पनि रेकर्ड कायम गरिरहेको छ । आधिकारिक तथ्यांकअनुसार अगस्त २०२० पछि पहिलोपटक एक्काइस सयभन्दा बढी बालबालिका विभिन्‍न अस्पतालमा भर्ना भएका छन् । अमेरिकामा कोरोनाका बिरामीहरु यसरी बढ्नुमा डेल्टा भेरियन्ट जिम्‍मेवार रहेको चिकित्सकहरुले बताएका छन् । अहिले अमेरिकामा दैनिक सरदर एक लाखभन्दा बढि संक्रमित फेला परिरहेका छन् । दैनिक एघार सयजतिको मृत्यु भइरहेको छ । समग्र तथ्यांक हेर्ने हो भने अमेरिकामा यो महामारीका कारणले ६ लाख ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सरकारी तथ्यांकअनुसार फ्लोरिडा राज्यमा मात्र अहिले दैनिक २८० जनाले ज्यान गुमाइरहेका छन् । त्यहाँ प्रतिदिन २१ हजार नयाँ संक्रमित देखापरिरहेको छ । अस्पतालहरुको एक समूहका प्रवक्ता जेफ ग्रेजरले एसोसिएट प्रेसलाई बताएअनुसार मध्य फ्लोरिडाका अस्पतालहरुमा भइरहेको मृत्युका कारण अतिरिक्त संसाधन जुटाउनुपरेको छ । मध्‍य फ्लोरिडाका दश प्रमुख अस्पतालका शवगृह कोरोना संक्रमितहरुको शवले भरिएका छन् । अहिले त्यहाँ शवलाई राख्न रेफ्रिजिरेटेड ट्रक प्रयोग गर्न थालिएको छ ।

उता ब्रिटेनमा पनि कोरोना संक्रमणदर बढिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा बितेका चौबीस घण्टामा ३२ हजार चार सय ६ जना नयाँ संक्रमित देखा परेका छन् । जसमध्ये १३३ जनाको मृत्यु दर्ता गरिएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बेलायतमा यही सेप्टेम्बरदेखि १२-१५ उमेर समूहका किशोर-किशारीलाई भ्याक्सिन दिने तयारी गरिएको छ ।

रूस र ब्राजिल पनि कोरोनाको डेल्‍टा भेरियन्टको मार झेलिरहेका छन् । हालका दिनमा स्थिति केही साम्य देखिए पनि अहिले पनि त्यहाँको मृत्युदर उच्च छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रूसमा बितेका चौबीस घण्टामा ७९९ जनाको मृत्यु भएको छ । १९ हजार चार सय ९२ संक्रमित थपिएका छन् । ब्राजिलमा बितेका चौबीस घण्टामा ७६१ जनाको मृत्यु भएको छ । त्यहाँ २७ हजार तीन सय ४५ जना नयाँ संक्रमित देखापरेका छन् । ब्राजिल अहिले कोरोनाबाट हुने मृत्युको मामिलामा विश्वको दोस्रो स्‍थानमा छ ।

रोयटर्सका अनुसार मेक्सिकोमा एक दिनमा १९ हजार पाँच सय ५६ नयाँ बिरामी देखापरेका छन् । त्यहाँ आठ सय ६३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाका कारण मृत्यु हुनेको संख्‍या दुई लाख ५७ हजार एक सय ५० पुगिसकेको छ । त्यहाँ अहिलेसम्म संक्रमणका ३३ लाख ११ हजार तीन सय १७ केस दर्ता भइसकेको छ । उता चीनमा कोरोनाका २१ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा एक दिनअघि ३२ नयाँ संक्रमित देखापरेका थिए । चीनको स्वास्थ्य प्राधिकरणका अनुसार यो दक्षिणी युनान प्रान्तको तथ्यांक हो ।

प्रतिक्रिया