शनिबार, वैशाख २९, २०८१

एनआईसी क्यापिटलले ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

नेपालखोज २०७८ भदौ १३ गते १४:१२

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज आइतबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडाैंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४८ प्रतिशत (करसहित)का दरले हुन आउने नौ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको पाँच बर्षको छोटो अवधि मै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्य तर्फ प्रथम, म्युचुअल फण्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी गराए । साथै, उनले क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाइनमार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको छ ।

संस्थाले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगर काठमाडाैंमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।

साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति संस्थाले लिएको छ । संस्थाले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानीकोष योजनाहरु एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड तथा एनआईसी एसिया सेलेक्ट–३० इन्डेक्स फन्ड र पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड संचालन गरिरहेको छ । साथै संस्थाले पाँचौ बन्दमुखी योजना एनआईसी एसिया फेलेक्सी क्याप फन्ड संचालनको अन्तिम तयारी गरिरहेको छ ।

प्रतिक्रिया