शनिबार, वैशाख २९, २०८१

काभ्रेका दुई नगपालिकासँग नबिल बैंकको सम्झौता

नेपालखोज २०७८ भदौ १३ गते १८:०९

काठमाडौं । नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाकातर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यो सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए ।

त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्‍‍याई नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताइन् ।

नबिल बैंकले असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दे आएको छ ।

प्रतिक्रिया