शुक्रबार, वैशाख ७, २०८१

टेकु दोभानको कालो पुल

सुनील उलक २०७८ भदौ १८ गते ९:००

काठमाडौ उपत्यकाको सुरुवाती इतिहासका कुरा गर्दा वाग्मती नदीको महत्त्व सबैभन्दा पहिले आउँछ । वाग्मतीको पुण्यको कथा इच्छुमती (टुकुचा) को संगम कालमोचन घाटबाट सुरु हुन्छ । मञ्जुश्रीले स्थापना गरेको सहर मञ्जपाटनको सीमा मानिन्छ । त्यसपछि वाग्मती र विष्णुमतीको दोभान टेकु दोभानको आउँछ । पवित्र तीर्थस्थलका रुपमा लिइने टेकु दोभानलाई नेपालको नामकरणका प्रमुख कारणको रुपमा लिइने ‘ने’ मुनि ऋषीको बासस्थानका रुपमा लिने गरिन्छ । वाग्मतीको पवित्र ठाउँ भएको हुँदा यहाँ घाटहरु पनि धेरै छन् । थापाथलीनजिकै चन्द्र घाट, कालमोचन घाट, पुरेत घाट, हनुमान घाट, पञ्चनारी घाट लहरै घाटहरु छन् । साथै पवित्र मन्दिरहरु पनि छन् । भन्ने नै हो भने पशुपतिभन्दा पवित्र ठाउँ हो टेकु दोभान । तर यहाँ न त सरकारले संरक्षणको चासो दिएको छ न त त्यहीका स्थानीयले नै महत्त्व बुझेको छ । उपत्यकाको बस्ती विकासको ३००० वर्षदेखि चोखो र निर्मल पानी बहदै आएको वाग्मतीमा पछिल्लो ५० वर्षमा वाग्मतीको दुर्गती भएको छ । न त यहाँ चोखो पानी बग्ने गर्दछ न त यहाँको वातावतरण नै शुद्ध भएको छ । नदी यसरी प्रदूषित हुन थाल्यो कि बस्ती नदी किनार पनि दुर्गन्धित हुन थालेको छ ।

उपत्यकाको महत्त्वपूर्ण नदीका विभिन्न स्थानमा चन्द्रशमशेरको शासनकालमा पक्की झोलुंगे पुलहरु बने । तर टेकुको कालो पुल भने चन्द्रशमशेरको समयमा बनेको थिएन । यो पुल भने जुद्धशमशेरले बनाउन लगाएका थिए । पाटनबाट कृषकहरुले आफ्नो उत्पादित तरकारी बिक्रीका लागि सहजै काठमाडौमा ल्याउन तथा पवित्र तीर्थहरुको दर्शन गर्न सहज होस् भनेर पनि यो पुल बनाइएको थियो । थापाथलीमा रातो रङ लगाएको हुँदा रातो पुल अर्थात् ह्याउँ ताँ भनिए झै टेकुको पुलमा कालो रङ लगाइएको हुँदा यसलाई कालो पुल अर्थात् हाकु ताँ भनिने गरियो । हुन त धोबीखोलामा पनि ज्ञानेश्वरबाट सिफल जाने बेलामा चन्द्रशमशेरले नै वि.सं. १९६३ मा बनाइएको पुललाई पनि कालो पुल भन्ने गरिन्छ । तर यो पुलको नामकरण भने पछि भएको हो ।

सुरुमा स्कटल्यान्डको एबरडिन सहरबाट लुइस एन्ड हार्पर कम्पनीबाट स्टिलका सामग्रीहरु ल्याएर स्वदेशी इन्जिनियर कर्णेल कुमारनरसिंह राणाको रेखदेखमा आधुनिक पक्की झोलुंगे पुल बनाउन सुरु गरिएको थियो । पछि जोन एम हेन्डरसन कम्पनी, एबरडिनबाट सामग्रीहरु ल्याएर झोलुंगे पुलहरु निर्माण गर्न थालियो । चन्द्रशमशेरको शासनकालपछि भने स्कटल्यान्डबाट सामग्री ल्याएर झोलुंगे पुलको निर्माण गर्ने कार्य रोकियो ।

वि.सं. १९९५ फागुनमा जुद्धशमशेरले टेकु दोभाननजिकै वाग्मती नदीमा झोलुंगे पुल बनाउन जमर्को गरे । ४०० फुट लामो आधुनिक पक्की झोलुंगे पुलमा काठमाडौंबाट पचली भैरवको पारि ललितपुरतर्फ राज तीर्थमा नुहाउन जानेहरु धेरै हुन्थे । पहिले पक्की पुल नहुँदा निकै समस्या थियो । हिउँदे मौसममा बनाइने काठे पुल वर्षातमा भत्किने गर्थ्यो । जसले गर्दा बलियो पुलको आवश्यकता हुँदा जुद्धशमशेरले थापाथलीमा जस्तै पुल बनाउने जमर्को गरे । तर यसपटक भने पुलको निर्माण सामग्री स्कटल्यान्डबाट होइन फ्रान्सबाट ल्याइयो ।

May be an image of bridge

टेकु दोभानको पाटनतर्फ रहेको घाटलाई राज घाट भनिन्थ्यो । यही राज घाटलाई राज तीर्थ पनि भनिन्थ्यो । शाहवंशका राजाहरुको मृत्युपश्चात १३ दिने किरिया यसै घाटमा गर्ने गरिन्थ्यो । किरियापुत्रीले यसै घाटमा बसेर सम्पूर्ण विधि पूरा गर्थे । यही राज घाटमा एक कुण्ड थियो जसलाई राज कुण्ड भनिन्थ्यो । यस कुण्डमा बिरेनुनको स्वाद आउने पानी आउने गर्थ्यो । बिरेनुनको औषधीय गुणको कारणले सो कुण्डमा नुहाउँदा पुरानो घाउँ खटिरा, दाद दुबी तथा अन्य छालाको रोगहरु निको हुने हुँदा सो कुण्डमा नुहाउनेहरुको भिड नै लाग्थ्यो । साथै दसैंको टीकामा मेला नै लाग्दथ्यो । यही कुण्डमा नुहाउन जानेहरुको सहजताका लागि पनि जुद्धशमशेरले पक्की झोलुंगे पुल बनाइदिएका थिए ।

प्रतिक्रिया