शुक्रबार, वैशाख ७, २०८१

मन्त्रीले कैंचीले होइन, रिबन दाँतैले काटेर पसलको उद्‌घाटन ! (भिडियोसहित)

अहिले पाकिस्तानको पन्जाब प्रान्तका मन्त्री फैयाज उल हसन चौहानको एक भिडियो भाइरल भइरहेको छ जसमा उनी आफ्नो दाँतैले रिबन काटेर पसलको उद्‌घाटन गरिरहेका छन् ।

नेपालखोज २०७८ भदौ १८ गते १४:०२

इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तका मन्त्री फैयज उल हसन आफ्नो एक हास्यास्पद तथा विचित्रको कामका कारण चर्चामा छन् । समाचारअनुसार पन्जाब प्रान्तका जेल मन्त्रीका साथै राज्य सरकारका प्रवक्ता फैयज एक पसलको उद्‌घाटन गर्न गएका थिए जहाँ उनले आफ्नो दाँतैले उद्‌घाटन रिबन काटिदिए । अहिले यो घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

भनिन्छ- पाकिस्तानको पन्जाब प्रान्तका मन्त्री फैयाज उल हसन चौहान प्रान्तीय राजधानी लाहोरमा एक इलेक्ट्रोनिक पसलको उद्‌घाटन गर्न गएका थिए । उक्त पसलको ढोकामा उद्‌घाटन रिबन टाँगिएको थियो । जब मन्त्री फैयाज पसल उद्‌घाटनका लागि ढोकाअगाडि पुगे एक व्यक्तिले एउटा प्लेटमा कैंची ल्याइदिए । तर त्यो कैंचीले रिबन काटिएन । समय बित्दै जान थालेपछि र अर्को कैंची आउन थप समय लाग्ने देखे पछि फैयाज उल हसनले आफ्नो दाँतैले उक्त रिबन काटिदिए । सम्भवत: दाँतले रिबन काटेर उदघाटन गरिएको यो संसारकै पहिलो र एकमात्र घटना होला ।

फैयाज उल हसनले २०१९ मा हिन्दुहरुका प्रति एउटा टिप्पणी गरेका थिए जसलाई अपमानजनक भन्दै पाकिस्तानी हिन्दुहरुले विरोध जनाए । कुरा बढ्दै गएपछि तत्कालीन सूचना तथा सांस्कृतिकमन्त्री फैयाजले पदबाट राजीनामा दिन बाध्य हुनुपर्‍यो । पछि प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ पार्टीले उनलाई माफी दिएर फेरि मन्त्री बनाउँदै जेल मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो ।
-विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया