आइतबार, वैशाख २३, २०८१

सीसीटीभीको निगरानीमा रहेका संसारका प्रमुख सहर

नेपालखोज २०७८ भदौ १९ गते १०:३५

काठमाडौं । तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ । हिजोआज जताततै देखिने सूचना हो यो । अफिस, घर, स्कुल-कलेज, हस्पिटल, सडक, चौक, पसल अहिले जताततै सीसीटीभी प्रयोग भएको पाइन्छ ।

हाम्रोजस्तो सुरक्षा जोखिम धेरै नभएको र गरिब मुलुकमा त यतिका विधि सीसीटीभी झुन्डिएका देखिन्छन् । सुरक्षा जोखिम बढी भएका र सम्पन्न सहरहरुमा कति सीसीटीभी होलान् ? संसारमा सबैभन्दा बढी सीसीटीभी प्रयोग भएको सहर कुन होला ? सबैको यही जिज्ञासा मेट्दै फोर्ब्सले आफ्नो आधिकारिक ट्‌विटर हेन्डलमा एउटा सूची पोस्ट गरेको छ- सीसीटीभीको सर्वाधिक निगरानी भएका सहरहरुको सूची ।

फोर्ब्सको उक्त सूचीमा भारतको राजधानी दिल्लीले पहिलो स्थान हासिल गरेको छ भने लन्डन दोस्रो र चेन्नई तेस्रो स्थानमा छन् । त्यसका अतिरिक्त भारतको आर्थिक राजधानी मुम्बई यो सूचीको अठारौं स्थानमा छ । दिल्ली र चेन्नई अमेरिकाको न्युयोर्क र चीनको सांघाईजस्ता सहरलाई पछाडि पार्दै आश्चर्यजनक ढंगमा अगाडि देखापरेका हुन् । अर्को रमाइलो के भने यो सूचीको टप टेनमध्ये ६ वटा सहर चीनका छन् ।

टेक्नोलोजी साइट कम्परिटेकले संसारका प्रमुख सहरहरुमा ‘प्रति स्क्वायर मिल’ मा प्रयोग गरिएको सीसीटीभीको संख्याका आधारमा यो रिपोर्ट तयार गरिएको हो । यो रिपोर्टअनुसार, दिल्लीमा प्रतिस्क्वायर मिल १,८२६.६ वटा सीसीटीभी क्यामेरा राखिएको छ । लन्डनमा प्रतिस्क्वायर मिल १,१३८.५ वटा सीसीटीभी प्रयोग भएको छ भने चेन्नईमा ६०९.९ वटा सीसीटीभी प्रतिस्क्वायर मिल प्रयोग गरिएको छ ।

सर्वाधिक सीसीटीभी प्रयोग हुने दश सहर
दिल्ली – १,८२६.६ सीसीटीभी प्रतिस्क्वायर मिल
लन्डन – १,१३८.५ सीसीटीभी प्रतिस्क्वायर मिल
चेन्नई – ६०९.९ सीसीटीभी प्रतिस्क्वायर मिल
सेन्जेन (चीन) – ५२०.१ सीसीटीभी प्रतिस्क्वायर मिल
वुशी (चीन) – ४२७.७ सीसीटीभी प्रतिस्क्वायर मिल
चिङदाओ (चीन) – ४१५.८ सीसीटीभी प्रतिस्क्वायर मिल
सांघाई – ४०८.५ सीसीटीभी प्रतिस्क्वायर मिल
सिंगापुर – ३८७.६ सीसीटीभी प्रतिस्क्वायर मिल
चाङग्शा (चीन) – ३५३.९ सीसीटीभी प्रतिस्क्वायर मिल
वुहान (चीन) – ३३९ सीसीटीभी प्रतिस्क्वायर मिल

दिल्लीका मुख्यमन्त्री दंग
यो सूची सार्वजनिक भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यसलाई दिल्लीका लागि गर्वको विषय बताएका छन् । केजरीवालले ट्‌विट गर्दै भनेका छन, ‘यो कुराले निकै खुसी महसुस गराउँछ कि, प्रतिस्क्वायर मिल सबैभन्दा बढि सीसीटीभी भएको सहरमा दिल्लीले सांघाई, न्युयोर्क र लन्डनलाई पछाडि पार्दै पहिलो स्थान हासिल गरेको छ । म यो उपलब्धिका लागि आफ्ना अधिकारी तथा इन्जिनियरहरुलाई बधाई दिन्छु । जसले छोटो समयमै दिनरात मिहिनेत गरेर यो उपलब्धि हासिल गरेका छन ।’

प्रतिक्रिया