आइतबार, वैशाख २३, २०८१

‘पन्जशिर कब्जा गरेको दाबी गलत’

नेपालखोज २०७८ भदौ १९ गते १९:३२

काबुल । तालिबानले सत्ता कब्जा गरिसकेपछि पनि अफगानिस्तान अझै शान्त हु्न सकेको छैन । अफगानिस्तानभित्र अझै युद्ध जारी छ । तालिबानले सत्ता कब्जा गरिसकेपछिको अबको युद्ध भनेको पन्जशिरसँग रहेको छ । अहिले पन्जशिरमा नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकु र तालिबानी लडाकुबीच घमासान युद्ध भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यता तालिबानले भने पन्जशिर कब्जा गरिसकेको खबर बाहिर ल्याएको छ । तर यथार्थ त्यो नभएको र युद्ध जारी रहेको पन्जशिर राज्यको विद्रोही समूह एनआरएफले बीबीसीलाई जनाएको छ ।

अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले तालिबानले पन्जशिर कब्जा गरेको भनिएको दाबीमा सत्यता नरहेको बताएका छन् । पन्जशिरमा एनआरएफले तालिबान लडाकुसँग दुई दिनदेखि सशक्त प्रतिकार गरिरहेको छ । एनआरएफको नेतृत्व अपदस्त पूर्वउपराष्ट्रपति सालेहले गरिरहेका छन् ।

सालेहले तालिबानले सत्ता कब्जा गर्नेबित्तिकै तालिबानसँग नझुक्ने र अफगानिस्तानको कार्यकारी राष्ट्रपति आफैं भएको उद्घोष गरेका थिए । उनले नेतृत्व गरेको नेसनल रेसिस्टेन्स फ्रन्टले बीबीसीलाई पठाएको भिडियो सन्देशमा दुवै पक्षका लडाकु मारिएको र केही घाइते भएको उल्लेख गरिएको छ । दुवै पक्षको लडाइँमा अवस्था कठिन भए पनि तालिवानले नियन्त्रण जमाउन भने नसकेको सालेहले बताएका छन् ।

पूर्वउपराष्ट्रपति सालेहले आफूहरू पन्जशिरबाट कुनै पनि हालतमा नहट्ने र आत्मसमर्पण पनि नगर्ने अडान राखेका छन् । तालिबानको सशक्त प्रतिकार गरिरहेको एनआरएफ समूहमा अफगानिस्तान सरकारका पूर्वसेना र स्थानीय लडाकुको सहभागिता छ । तालिबानले सत्ता कब्जा गरिसकेपछि पनि नियन्त्रणमा लिन नसकेको पन्जशिर अफगानिस्तानको सानो क्षेत्रफल भएको प्रान्त हो । यो राज्य वरिपरिबाट पहाडले घेरिएको उपत्यका हो । भौगोलिक विकटताका कारण कुनै पनि शत्रु पक्षले उक्त राज्यमा आक्रमण गरेर विजय प्राप्त गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

प्रतिक्रिया