बिहीबार, वैशाख १३, २०८१

करोडपति सुशीलको कथा : साथमा दुई गाई र झुपडी !

श्रीमतीले छाडिन्, आफू पुगे सडकमा । परिवारका अन्य सदस्यहरू पनि अहिले टाढिएका छन् ।

नेपालखोज २०७८ भदौ २४ गते ९:२४

काठमाडौं । आजभोलि भारतीय टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ १३औँ सिजन चलिरहेको छ । यो कार्यक्रमले धेरैलाई पढ्नुपर्छ भन्ने भावनाको विकास गराएको छ । भारतमा नाम र दाम प्राप्त गर्ने सपना बोक्दै अधिकांशले अध्ययनको दायरालाई पनि फराकिलो बनाएका छन् ।

केही दिनअघि मात्रै आग्राकी एक दृष्टिविहीन शिक्षिका हिमानी बुन्देलाले एक करोड रुपैयाँ जित्न सफल भइन् । १३औं सिजनसम्म आइपुग्दा धेरै प्रतियोगीले ‘कौन बनेगा करोडपति’ मा करोड रुपैयाँ जित्न सफल भएका छन् । करोडौं हात पारेपछि गाउँमा बस्नेहरू सहरमा बसेका छन् । राम्रो व्यापार व्यवसाय गर्दै सुविधा सम्पन्न घर बनाएका छन् । उनीहरूको जीवनमा खुसीयाली छाएको छ ।

अर्कातिर भारतमा केही यस्ता व्यक्ति पनि छन्, उनीहरू यही कार्यक्रममार्फत करोडपति बनेर पनि सडकमा आएका छन् । भारत बिहारका सुशीलकुमारले सिजन–५ मा ५ करोड जित्दा खुसीको सीमा थिएन । उनले पाँच करोड हात पारेपछि विभिन्न सपनाहरू पनि नबुनेका होइनन् । तर करोडका नोटलाई उनले राम्ररी समाउन जानेनन् । अन्ततः हातमा आएको चरो उम्केर गएजस्तै उनको पाँच करोड थाहै नपाई फजुल खर्चमै सकिएको छ ।

सिजन–५ मा पनि कार्यक्रम प्रस्तोता अमिताभ बच्चन नै थिए । उनले सुशीलको बौद्धिकताको धेरै प्रशंसा गरेका थिए । सामाजिक सन्जालमा पनि सुशीललाई बधाइ दिनेको ओइरो लागेको थियो । सबै सञ्चारमाध्यममा सुशीलको जित प्रमुख समाचार थियो । उनमा पनि खुसीको सीमा थिएन । उनलाई गरिब भनेर हेप्नेहरूको मानसिकतामा फरकपन आएको थियो । तर सुशीलकुमार आजभोलि पहिलेकै झुपडी घरमा पुगेका छन् ।

सन् २०२० सेप्टेम्बर १२ मा उनले सामाजिक सन्जाल फेसबुकमा केबीसी जितेपछि आफ्नो जीवनमा सबैभन्दा खराब दिन आएको उल्लेख गरेका थिए । उक्त स्टाटसमा आधारित हुँदै भारतीय सञ्चारमाध्यममा आज उनको कथा प्रसारण भइरहेका छन् । उनले करोड जितेको वर्ष सन् २०१५ र १६ आफ्ना लागि बिर्सनै नसक्ने क्षण भएको उल्लेख गरेका छन् । उनले बिहारमा लोकल सेलिब्रिटी भएपछि महिनामा १५ दिनसम्म विभिन्न कार्यक्रममा सहभागिता जनाए । सामान्य ज्ञानमा प्रखर भएरै पाँच करोड जितेका उनको पढाइ–लेखाइको स्तर पनि खस्किँदै गयो । उनी भन्छन्, ‘मिडिया पनि बारम्बार आउने गर्थें । म उनीहरूलाई धेरै गम्भीर रूपमा लिने गर्थें किनकि म आफूलाई बेकारको मान्छे देखाउन चाहँदैनथें ।’

उनले केबीसी जितेपछि आफू दानवीर बन्दै गएको उल्लेख गरेका छन् । उनले हजारौं त समस्या पर्यो भन्नेहरूलाई दान दिए । अरू रुपैयाँ साथी–भाइलाई खुवाउन र रमाइलो गर्नमै खर्चिए । उनी भन्छन्, ‘केबीसीको विजेतापछि म भलाइ गर्ने मान्छे बनेँ, गोप्य किसिमले डोनेसन दिन मज्जा लाग्यो ।’

विस्तारै मस्ती गर्ने नाममा उनी खैनी, चुरोट र मादक पदार्थको सेवन गर्न थाले । समूह बनाएरै लाखौं रुपैयाँ मादकपदार्थ सेवन गरेरै सके । वास्तवमा पाँच करोड जितेपछिको सुशीलको कथा फिल्मी कहानी जस्तै छ । फिल्ममा जस्तै गरिब परिवारबाट एकाएक हिरो भएका सुशीलको कथा दुःखमै सकिएको छ ।

पाँच करोड जितेपछि उनका आमाबुबा, श्रीमती, भाइ, बहिनी, साथीभाइ, इस्टमित्र, छिमेकी सबैको प्रशंसाको पात्र भएका थिए । तर सुशीलमा नराम्रो बानी बढ्दै गएपछि उनलाई श्रीमतीले पनि छाडेर गइन् । उनका परिवारका अन्य सदस्यहरू पनि अहिले टाढिएका छन् ।

सबै पैसा सकिएपछि सुशीलको बास सानो झुपडीमा भयो । उनले दुईवटा गाई पालेर दूध बेचेर केही वर्ष जीवन गुजारा गरे । सामान्य मजदुरीको काम पनि गरे ।

तर ‘कौन बनेगा करोडपति’ मा पाँच करोड जितेका उनको दुःखदायी जीवन भएपछि सञ्चारमाध्यले उनको दुःख प्रकाशन तथा प्रसारण पनि गर्न भ्याए ।

उनलाई केही ठूला व्यक्तिले साथ दिए । उनी मुम्बई पुगेर केही महिना बसे । फिल्मीसम्बन्धी विषयहरू सिके । उनले फिल्मका तीनवटा स्क्रिप्ट पनि लेखे । त्यसबापत ६० हजार रुपैयाँ पाए । फेरि उनी बिहार फर्किएर शिक्षक बने । मादक पदार्थको सेवन विस्तारै छाड्दै गए । आजभोलि सुशीलकुमार पर्यावरणको क्षेत्रमा काम गरेर जीवन बिताइरहेका छन् ।

-विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया