‘माइती सम्झनाको पर्व…’

काठमाडौं । आज हिन्दु नारीको महान् पर्व तीज । नारीहरूले तीजलाई विशेष चाडका रूपमा मनाउँछन् । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगानसमेत गरेर धुमधामसँग तीज मनाउँछन् ।
यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउँछन् । तीज मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै-कुनै प्रान्तमा पनि मनाइन्छ ।
तीजमा माइतीले आफ्नी छोरी/चेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदु:ख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ भने साथीसंगी भेला भएर पनि नाचगान गरी दर खाने पनि चलन छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठा-मीठा परिकारका साथै खीर, ढकने, सेलरोटी, केरालगायत खाना, फलफूल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यत: दर मध्यरात १२ बजेअघि खाने चलन छ । भोलिपल्ट दिनभर पानीसम्म नखाई निराहर व्रत बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन छ ।
प्रत्यक वर्ष तीज आउनु केही समयदेखि नै महिलाहरू आपसमा जम्मा भएर दर खाने, नाचगान गर्ने गर्दथे । तर, गत वर्षदेखि भने कोरोना भाइरस संक्रमण फैलिएका कारण यसको त्रासले एकैठाउँमा जम्मा हुने, नाचगान गर्ने, दर खाने चलन कम भएको छ । सरकारले अहिले पनि नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले महिलाहरूलाई घरमै बसेर तीज मनाउन आग्रह गरेको छ । तीजका दिन महिलाहरू बिहान चाँडै उठी नुहाई-धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रत बस्ने गर्छन् ।
बेलुकीपख भने घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने चलन छ । निर्जला व्रत भनिए पनि आजभोलि महिलाहरू मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गरेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए । आज काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला व्रतालुहरूको ठूलो भिड हुने गर्छ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भई सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिंगको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव-पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजका रूपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ ।
तीजको महत्त्व
आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व छ ।
अहिले आधुनिक युगसँगै सम्पर्कका विभिन्न माध्यमहरू बनिसकेका छन् । अहिले प्रविधिले जो जहाँ जति टाढा भए पनि सँगै भएको महसुस गराइदिएको छ । तर, पहिले बिहे भएर गएकी चेलीले माइती भएको महसुस गर्न अथवा माइती भेट्न तीज कुर्नुपर्थ्यो । अहिलेको जस्तो प्रविधिको सुविधा थिएन । वर्षभरिको दुःख-पीडालाई बिर्सिएर यस दिन चेलीहरू माइत जाने भएकाले पनि यसको महत्त्व थप बढी हुन्छ ।
तीजमा महिलाहरूलाई मीठा-मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराईघरको विभिन्न जिम्मेवारी, तनावका साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका छ । तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमान्को दीर्घायूको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताले सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण-ब्राह्मणीहरूलाई दान-दक्षिणा गर्ने चलन छ । तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । नेपाली समाजमा विशेषगरी महिलाहरूले मात्रै तीजको व्रत बस्नुपर्छ भन्ने धारणा छ तर, धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा गौतम भन्छन्- तीजको व्रत महिलाहरूले मात्रै होइन पुरुषले पनि बस्नुपर्छ । यो भगवान् शिवको आराधना हो । भगवान्को आराधना गर्न पुरुष वा महिला भनेर छुट्याइएको हुँदैन ।

प्रतिक्रिया