कोरोनाको तेस्रो लहर सुरु भयो : डब्ल्यूएचओ

नेपालखोज २०७८ भदौ २४ गते ९:०९

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदहानोम गेब्रेयेससले संसारभरका देशलाई सचेत गराउँदै कोरोनाको तेस्रो लहर प्रारम्भ भइसकेको बताएका छन् । ‘हामी तेस्रो लहरको सुरुवाती चरणमा छौं,’ उनले भनेका छन् । विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिरहेको कोरोनाको डेल्टा भेरियन्टलाई मध्यनजर गर्दै डब्ल्यूएचओका प्रमुखले यो कुरा बताएका हुन् । टेड्रोसले भनेका छन्, ‘अहिले यो भाइरसले लगातार आफ्नो रूप परिवर्तन गरिरहेको छ र त्यही कारणले यो बढी संक्रामक पनि भएको छ ।’

डब्ल्यूएचओका प्रमुख टेड्रोस भन्छन्, ‘यो दुखद खबर हो तर हामी कोरोनाको तेस्रो लहरको प्रारम्भिक चरणमा पुगिसकेका छौं ।’ यसअघि उनले कोभिड-१९ को डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको र मानिसहरुमा कोरोनाप्रतिको लापरबाही बढ्दै गएको कुरा बताएका थिए । कोरोनाविरुद्ध घट्दो सावधानीकै कारण यसको संक्रमणका साथै मृत्युदर पनि बढिरहेको उनको भनाइ छ ।

टेड्रोस अदहानोम गेब्रेयेससले भनेका छन्, ‘डेल्टा भेरियन्ट १११ भन्दा बढी मुलुकमा पुगिसकेको छ । अब यो चाँडै कोरोना भाइरसको सबैभन्दा खतरनाक भेरियन्ट साबित हुँदै छ ।’

बितेका ४ सातायता विश्वभर कोभिड संक्रमणको घटना लगातार बढिरहेको छ । डब्ल्‍यूएचओका ६ क्षेत्रमध्ये एक क्षेत्र छोडेर अन्य सबै क्षेत्रमा कोरोना संक्रमणको दर बढेको छ । डब्ल्यूएचओका प्रमुखले भनेका छन्, ‘दश सातासम्म संक्रमणको दर घट्दै गएर यसरी अचानक फेरि त्यसमा वृद्धि देखिनु चिन्ताको कुरा हो ।’

प्रतिक्रिया