काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्ष

नेपालखोज २०७८ भदौ २४ गते १०:३४
तस्बिर रासस

काठमाडाैं । एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्ससहितको टोलीले नेपालसँग एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

चार दिनसम्म नेपाल भ्रमणमा रहने सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग आजै भेटवार्ता गर्ने कार्यतालिका छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो ।

यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

प्रतिक्रिया