विश्वास जित्दै नयाँ पुस्ता !

नेपालखोज २०७८ भदौ २४ गते १४:४९

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताको राम्रो उपस्थिति देखिन थालेको छ । पार्टीको स्थानीय तहमा सम्पन्न निर्वाचनमा नवयुवा अथवा राजनीतिका कान्छो पुस्ताको सहभागिता उत्साहजनक देखिन्छ । कांग्रेसमा साढे ३ लाख क्रियाशील सदस्य युवा पुस्ताका छन् । जसको प्रभावस्वरुप विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति, उप-सभापति, सचिवलगायत क्षेत्रीय प्रतिनिधि युवा निर्वाचित हुने क्रम बढेको छ ।

पार्टीका क्षेत्रीय प्रतिनिधिमा युवाहरुको उपस्थिति बढेसँगै महाधिवेशन प्रतिनिधिमा पनि युवाहरुको राम्रो उपस्थिति रहने अनुमान गरिएकोछ । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा यसपटक युवा पुस्ताको सहभागिता उल्लेखनीय रुपमा बढेको थियो ।

कांग्रेस राजनीतिमा कान्छो पुस्ताको सहभागिताका क्रममा दैलेख दुल्लु ३ कि स्वस्तिमा महतले १९ वर्षमै वडा सभापति भएर चर्चा पाइन् । उनको चर्चा सेलाउन नपाउँदै अहिले अरु थुप्रै नवयुवा निर्वाचित भइरहेको समाचार सार्वजनिक भइरहेको छ ।

यस क्रममा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएकी छन् । वडा अधिवेशनमा खसेको ३६३ मतमध्ये पूजाले सबैभन्दा बढी मत प्राप्त गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

यता रामेछापको उमाकुण्ड गाउँ पालिका १ को वडा-सभापतिमा २४ वर्षीय ङापेम्बा शेर्पा निर्वाचित भएका छन् । सल्यान जिल्लाका १८ वर्षीय युवा सुसन केसी वडा उप-सभापतिमा निर्वाचित भएका छन् । केसी नेपाली कांग्रेस वनगाड कुपिन्डे नगरपालिका ७ वडा कार्यसमितिको उप-सभापति छानिएका हुन् । उनी नेविसंघबाट पार्टी राजनीतिमा आएको बताइएको छ ।

यसक्रममा नेपाली कांग्रेस भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को वडा कार्यसमिति सचिवमा १९ वर्षका सुघोष ढुंगेल सर्वसम्मत चयन भएका छन् । अछाम जिल्लाको मंगलसेन नगरपालिका ११, खिमाडामा २२ वर्षीया जानकी रावल भण्डारी वडा-सभापतिमा निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सिलसिलामा महत्त्वपूर्ण जिम्मेवारी पाउने महिलाहरु बढेसँगै नवयुवा पुस्ताका महिलाहरुको सहभागिता पनि बढेको देखिएको छ ।

प्रतिक्रिया