नेपाल र बंगलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

काठमाडौं । नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ ।
दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बंगलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ । नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन् । गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनि हाल कतारमा उपचाररत छन् । उनले चोटका कारण बंगलादेशसँगको दुवै मैत्रीपूर्ण खेल खेल्ने छैन्।
नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आएका छन् । उनले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बंगलादेशका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ छ । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशसँग अपराजित रहेको छ । दुवै टोलीले हालसम्म छ खेल खेलेका छन् ।
नेपालले सन् २०१० को जनवरीमा बंगलादेशका ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो । सो खेलमा नेपालको तर्फबाट जमुना गुरुङले गोल गरेकी थिइन । त्यस्तै सन् २०१० को डिसेम्बरमा बंगलादेशमै भएको अर्को खेलमा महिला साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट जमुना गुरुङले दुई, अनु लामाले एक गोल गरेकी थिइन् ।
त्यसैगरी सन् २०१४ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई १–० गोलले हराएको थियो । नेपालका लागि निर्णायक गोल सजना रानाले गरेकी थिइन्। सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा निरु थापा, दीपा अधिकारी र अनु लामाले गोल गरेकी थिइन् ।
त्यस्तै सन् २०१८ नोभेम्बरमा म्यानमामा भएको भएको एशियाको महिला ओलम्पिक छनोटको समूह ‘सी’ को खेलमा नेपाल र बंगलादेशले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि निरु थापाले गोल गरेकी थिइन ।
त्यस्तै सन् २०१९ मार्चमा नेपालको विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३–० गोलअन्तरले हराएको थियो । उक्त खेलमा सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक–एक गोल गरेकी थिइन् । नेपालका लागि बंगलादेशले एउटा आत्मघाती गोल गर्न पुगेको थियो ।

प्रतिक्रिया