पत्रकार र महिलालाई तालिबानको यातना !

काबुल । आजभोलि अफगानिस्तान पूर्ण रूपमा तालिबानको कब्जामा छ । जुनदिन अफगानिस्तानमा तालिबानको शासन सुरु भयो, धेरै जनाले अफगानिस्तान छाडेका छन् । आजभोलि अफगानिस्तानमा तालिबानको नेतृत्वमा अन्तरिम सरकार पनि गठन भएको छ ।
तर उनीहरूको नेतृत्वमा सरकार गठन भएपछि अधिकांश नाागरिक चिन्तामा छन् । काबुललगायत विभिन्न ठाउँमा तालिबानविरुद्ध नाराबाजी भइरहेको छ । पाकिस्तानलगायत देशमा जान हवाई उडान प्रतिबन्ध लगाएपछि मानिसहरू थप चिन्तामा परेका छन् । हवाई उडानमा लगाएको प्रतिबन्धविरुद्ध महिलाहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।
पछिल्लो समय अफगानिस्तानका विभिन्न स्थानमा तालिबानविरुद्ध महिलाले प्रदर्शन गरिरहेका छन् । उनीहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिने गरेका छन् । महिला आन्दोलनका कारण तालिबानमा गहिरो असर परेको छ । तालिबानहरू स्तब्ध छन् ।
यता महिला प्रदर्शनका समाचारलाई प्राथमिकता दिएकै कारणले तालिबान सरकारले दुई पत्रकारलाइ सख्त घाइते हुनेगरी यातना दिएको छ । पछाडिबाट हेर्दा कम्मरको तलमाथि बढी यातना दिइएको छ । कोर्रा बसाइएका कारण उनीहरूको शरीरमा रगत जम्मा भएको देखिन्छ । यस्तै ढाडमा पनि यातनाका कारण भित्री रूपमा रगत जमेको देखिन्छ ।
पत्रकारलाई दिइएको यातनाबाट तालिबान शासकहरू कतिसम्म निर्दयी हुँदै छन् भन्ने प्रस्ट हुन्छ । अफगानी अन्तरिम सरकारको नेतृत्व गरेको तालिबानले पत्रकारहरूलाई कोठा बन्द गरेर निर्मम यातना दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । पत्रकारलाई घण्टौं कुटपिट गर्दै यातना दिइएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।
यसैगरी तालिबानहरूले महिलामाथि पनि निर्मम कुटपिट गरेका छन् । महिलाले प्रदर्शन गर्ने क्रम बढेपछि तालिबान लडाकुले सरकारको स्वीकृतिबिना कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिएका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरे कारबाहीको कडा भागिदारी हुनुपर्ने चेतावनी दिएका छन् ।
पछिल्लो समय महिला अगुवाहरूले अफगानिस्तान सरकारमा आफूहरूको सहभागिता हुनुपर्ने माग गर्दै आएका छन् । महिलाले अधिकारको माग गर्न थालेपछि अफगानिस्तानमा महिलालाई निर्मम यातना दिइँदै आएको छ । लडाकुहरूले पत्रकार र महिलालाई नियन्त्रणमा लिई लाठी, बेल्ट र कोर्रा प्रहार गर्ने गरेका छन् । अधिकारको कुरा उठाउँदा महिलाले निर्मम यातना पाइरहेकाले तालिबान नेतृत्वको सरकार महिलाविरुद्ध झन् कडा बन्ने देखिन्छ ।

अर्कातिर तालिबान नेतृत्वको सरकारले महिलालाई बाहिरी काम गर्न रोक लगाएको छ भने पुरुषसँग विद्यालय तथा कलेज पढ्न पनि प्रतिबन्ध लगाएको छ । जसलाई लिएर महिलाले यातनाको पनि पर्वाह नगरी आजभोलि अफगानिस्तानका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
सत्ता कब्जा गरेपछि तालिबानी नेताहरूले महिलाको लागि हकअधिकारको ग्यारेन्टी गरिने जनाएका थिए । तर भनाइ र गराइमा अन्तर देखिएको छ । तालिबान नेतृत्वको सरकारले अधिकारको माग उठाएकै भरमा महिलालाई चरम यातना दिने गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि उल्लंघन गरेको वर्तमान अफगानिस्तान सरकारले सन्धिको पालना गरे महिलाको हक सुनिश्चित हुने देखिन्छ ।

प्रतिक्रिया