शुक्रबार, वैशाख १४, २०८१

गैरहिन्दु कलाकारको गणपति उत्सव

नेपालखोज २०७८ भदौ २६ गते ८:३६

काठमाडौं । गणेश चतुर्थी खासगरी महाराष्ट्रमा विशेष उत्सवका रुपमा मनाइन्छ । महाराष्ट्रको राजधानी मुम्बईमा केन्द्रित बलिउड फिल्म उद्योगका कलाकारहरु पनि यो उत्सवमा धुमधामका साथ सहभागी हुन्छन् ।

हिन्दु धर्मावलम्बी कलाकारहरु त स्वभाविक रुपमा सहभागी हुने भै हाले गैर हिन्दु कलाकारहरुले पनि गणेश चतुर्थीको परम्परालाई लामो समयदेखि निर्वाह गर्दै आएका छन् । यो पर्वमा उनीहरुको घरमा देखिने पूजा र उत्साह हेर्नलायक हुन्छ । यी गैरहिन्दु कलाकारमा विघ्नहर्ता गणेशप्रति भरपूर आस्था पाइन्छ भने उनीहरु प्रत्येक वर्ष भव्य रुपमा गणपति उत्सव मनाउँछन् ।

कुरा सुरु गरौं खान परिवारबाट जहाँ प्रत्येक वर्ष धुमधामका साथ गणपति उत्सव मनाइन्छ । सुपर स्टार सलमान खानको ग्यालेक्सी अपार्टमेन्टस्थित निवासमा खान परिवारले गणेश चतुर्थीमा एउटा ठूलो पूजाको आयोजना गर्दै आएको छ । कोरोना संकटका कारण गत वर्षदेखि यो कार्यक्रम सीमित स्तरमा सम्पन्न गरिए पनि खान परिवार कोरोना संकट हट्नेबित्तिकै यसलाई फेरि भव्य रुपमा मनाउने योजनामा छ ।

अर्का खान शाहरुख पनि गणपति उत्सव सेलिब्रेट गर्छन् । खान आफैं विघ्नहर्ता भगवान् गणेशमा गहिरो आस्था राख्छन् । किङ खानकी श्रीमती हिन्दु भएकाले पनि होला उनको घरमा बढीजसो हिन्दु पर्व नै मनाइन्छ । त्यसमा पनि गणेश उत्सवमा उनको घर मन्नतमा विशेष उत्साह देख्न पाइन्छ ।

कैटरिना कैफ पनि गणपति भक्त हुन् । उनी हरेक वर्ष गणपति उत्सव सेलिब्रेट गर्छिन् । कैटरीनाको घरमा गणेशको प्रतिमा स्थापना गरी पूजाआजा नगरिए पनि उनी अरुको पूजा वा मन्दिर गएर विघ्नहर्ता गणेशको आशीर्वाद लिन्छिन् ।

सैफ अली खान र अमृता सिंहकी छोरी बलिउड अभिनेत्री सारा अली खान पनि जोश-जाँगरका साथ गणेश उत्सव मनाउँछिन् । उनी प्रत्येक वर्ष यो पूजामा संलग्न हुँदै आएकी छिन् ।

अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान पनि गणेश भक्त हुन् । सुजैन हरेक वर्ष घरमा गणपति पूजा गर्छिन् । सोसल मिडियामा उनको पूजाको तस्बिर निकै मन पराइन्छ ।

No description available.

डान्सर तथा कोरियोग्राफर रेमो डिसुजाको घरमा पनि प्रत्येक वर्ष भगवान् गणेशको प्रतिमा स्थापना गरिन्छ । डिसूजा परिवार नै उत्साह पूर्वक यो उत्सवमा सहभागी हुन्छ ।

No description available.

अब कुरा गरौं छोटे नवाब अर्थात् पटौदी खानदानका उत्तराधिकारी सैफ अली खानको । सैफको घरमा पनि धुमधामका साथ गणेश पूजा हुन्छ जसमा उनकि श्रीमती करिना कपुर सक्रिय हुन्छिन् । सैफ श्रीमती करिनासँगै आफ्ना छोराहरु तैमुर र जहाँगिरका साथ भगवान् गणेशको आशीर्वाद थाप्छन् ।
-भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया