शुक्रबार, वैशाख १४, २०८१

‘जातको प्रश्न’को दोस्रो सिजन !

नेपालखोज २०७८ भदौ २६ गते १७:१०

काठमाडौं । समता फाउण्डेशनले सुरु गरेको जातको प्रश्नको दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुुरु हुने भएको छ । फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जात जातीले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो ।

कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताए । कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताएका छन् । उनले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताए ।

अभिनेता राईले भने, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । एउटा मानिसले अर्को त्यही समाजमा बस्ने मानिसलाई विभेद गर्नुनहुने उनिहरुको भनाइ थियो ।

जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्ने छन् । जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ ।

प्रतिक्रिया