शुक्रबार, चैत १६, २०८०

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारलाई समर्थन गर्ने

नेपालखोज २०७८ भदौ २८ गते २१:३०

सुदूरपश्चिम । नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले)बाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित एकीकृत समाजवादीकोसमेत प्रतिनिधित्व रहेको छ । बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिइन् ।

सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ ।

नेकपा (एमाले)को कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशः सोडारी र तामाङ थिए । कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिनअघि नै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा रूपान्तरित गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।

एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ । यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् ।

जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध छन् । राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गराएका थिए । अर्का प्रदेशसभा सदस्य मालामति रानाथारु जनता समाजवादी पार्टीमा नै रहेका छन् । रासस

प्रतिक्रिया