बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानलाई अमेरिकाको ८०० करोडको अनुदान

नेपालखोज २०७८ भदौ २९ गते ८:५१

अफगानीहरुलाई तत्काल खाना, औषधि, स्वास्थ्य सेवा, सुरक्षित पानी, स्वच्छता र सुरक्षाको आवश्यकता छ । त्यसैले विभिन्न देश संयुक्त राष्ट्रसंघको अगुवाइमा मानवीय आधारमा आर्थिक मद्दतका लागि अघि सरेका छन् ।

काठमाडौं । तालिबानी अन्तरिम सरकार गठन भएपछि अमेरिकाले पहिलोपटक अफगानिस्तानका जनतालाई आर्थिक मद्दत गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थम्पसन-ग्रिनफिल्डका अनुसार अमेरिका अफगानिस्तानका जनताका लागि ६४ मिलियन डलर (करिब ८०० करोड) को मानवीय सहायता उपलब्ध गराउन तयार छ । ग्रिनफिल्डका अनुसार अहिले अफगानिस्तान गम्भीर स्थितिमा छ । अफगानी जनतालाई यस्तो स्थितिबाट पार लगाउन अमेरिका वचनबद्ध छ ।

राजदूत ग्रिनफिल्डले ट्‌विटरमा लेखेका छन , ‘मलाई यो घोषणा गर्दा गर्व लागिरहेको छ कि अमेरिका अफगानिस्तानका जनताका लागि मानवीय सहायताका रूपमा ६४ मिलियन डलर प्रदान गरिरहेको छ । यो रकम युनाइटेड नेसन र अन्तर्राष्ट्रिय एनजीओहरुमार्फत परिचालन हुनेछ । हामी अन्य देशलाई पनि अफगानिस्तानको सहयोगमा एकजुटता देखाउन आग्रह गर्दछौं ।’

अमेरिकाभन्दा पहिले संयुक्त राष्ट्रसंघका प्रमुख, न्युजिल्यान्ड, चीन तथा जर्मनीले अफगानिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

संयुक्त राष्ट्रसंघले दुई करोड डलर दिने
संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले हिजो (सोमबार) अफगानिस्तानमा मानवीय सहयोगका लागि दुई करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए । गुतेरेसले भनेका छन, ‘अफगानिस्तानका जनतालाई एउटा जीवन रेखा (लाइफ लाइन) को आवश्यकता छ । दशकौं लामो युद्ध, पीडा र असुरक्षापछि अहिले अफगानी जनता सम्भवतः आफ्नो जीवनको सबैभन्दा खतरनाक समयको सामना गरिरहेका छन् । अहिलेको समय अन्तर्राष्ट्रिय समुदाय उनीहरुको साथमा खडा हुने समय हो ।’

चीनले पहिले नै २०० मिलियन युआन (३१ मिलियन डलर) प्रदान गर्ने घोषणा गरिसकेको छ । यता न्युजिल्यान्डका विदेशमन्त्री नानैया महुताले अफगानिस्तानलाई मानवीय सहायताका रूपमा २ मिलियन यूएस डलर प्रदान गरिने कुरा बताएका छन् । महुताले भनेका छन्, ‘अफगानिस्तानलाई मानवीय सहयोगको आवश्यकता छ, त्यहाँको अहिलेको संकटले सबैभन्दा बढी महिला तथा युवतीहरुमा प्रतिकूल प्रभाव पारिरहेको छ ।’

प्रतिक्रिया