मंगलबार, वैशाख ११, २०८१

आइफोन-१३ सहित लन्च हुँदै छन् एप्पलका नयाँ उत्पादन, मूल्य कति ?

नेपालखोज २०७८ भदौ २९ गते १५:१५

काठमाडौं । एप्पल कम्पनीले आज आफ्नो नयाँ आइफोन-१३ सार्वजनिक गर्दै छ । एक वर्ष लामो पर्खाइपछि आइफोनको यो नयाँ भर्सन बजारमा आउन लागेको हो । आज एउटा भर्चुअल इभेन्टमार्फत एप्पलले आइफोन-१३ का साथै अरु केही नयाँ उत्पादन आइप्याड, एप्पल वाच तथा AirPods पनि लन्च गर्नेछ ।

एप्पलको आजको मेगा इभेन्ट नेपाली समयअनुसार आज राति पौने ११ बजे प्रारम्भ हुनेछ । यो इभेन्ट एप्पलको वेबसाइटका साथै उसको अफिसियल सोसल मिडिया प्लेटफर्ममा प्रत्यक्ष हेर्न पाइनेछ ।

आइफोन-१३ का विभिन्न भर्सन
आइफोन-१३ सिरिजअन्तर्गत आज एप्पलले आइफोन-१३, आइफोन-१३ प्रो, आइफोन-१३ प्रो म्याक्स तथा आइफोन-१३ मिनी लन्च गर्न सक्छ । भनिन्छ आइफोनको यो नवीनतम् सिरिजमा यसको चर्चित फिचर फेस आईडीमा थुप्रै परिवर्तन देख्न पाइनेछ । एप्पलले यसमा यस्तो प्रविधि प्रयोग गरेको छ जसमार्फत आइफोन-१३ धनीले मास्क लगाएरै पनि आफ्नो फोन अनलक गर्न सक्छन् । गाढा कुहिरो वा घाम छल्न सनग्लास लगाएका बेला पनि यो फोनको सिस्टमले युजरको अनुहार चिनेर फोन अनलक गरिदिन्छ ।

मूल्यको कुरा
अन्तर्राष्ट्रिय मिडियाहरुमा आएको खबरअनुसार आइफोन-१३ प्रो म्याक्सको अन्तर्राष्ट्रिय बजार मूल्य १,०९९ डलर रहन सक्छ । यो फोनको बिक्री अमेरिकामा आजैदेखि सुरु हुनेछ । यो स्मार्टफोन सेतो, कालो तथा रातो रङमा तयार गरिएको छ । केही समयपछि यो फोन पिंक कलरमा समेत उपलब्ध गराइनेछ ।

आइफोन-१३ मिनी ६ वटा रङमा बाजारमा आउनेछ- ब्ल्याक, ब्लु, पर्पल, पिंक, रेड र ह्‌वाइट । यो फोनको दुईवटा अप्सनमध्ये एउटामा १२८ जीबी र अर्कोमा २५६ जीबी स्टोरेज रहनेछ ।

आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स भने चार कलरमा आउनेछन् जसमा ब्ल्याक, सिल्भर, गोल्ड र ब्रन्ज कलर छन् । आइफोन-१३ प्रो १२८ र २५६ जीबी स्टोरेज भएको दुई भेरियन्टमा उपलब्ध गराइनेछ । भनिन्छ आइफोन-१३ प्रो म्याक्स स्मार्टफोन भने २५६ र ५१२ जीबी स्टोरेजयुक्त हुनेछ । यो लिक भएको सूचनाका आधारमा भनिएको हो ।

बिनानेटवर्क फोन कल
आइफोन-१३ सिरिजका स्मार्टफोनमा पाइने खास कुरा फोरजी र फाइभ-जीको नेटवर्क नभए पनि म्यासेज पठाउन र फोन कल गर्न पाइनु पनि हो । यो सुविधा इमरजेन्सीमा निकै उपयोगी साबित हुन सक्छ ।

रिपोर्टअनुसार आइफोन-१३ सिरिजलाई एमएम वेब फाइभ-जीको सपोर्ट मिल्नेछ । कतिपय देशमा यही वर्षभित्र एमएम वेब फाइभ-जीको कभरेज सुरु हुनेछ फलस्वरूप आइफोन-१३ मार्फत प्रयोगकर्ताले हाई स्पिड फाइभ-जी कनेक्टिभिटीको मजा लिन सक्नेछन् ।

एमएमवेब नेटवर्कमा अरु फाइभ-जी नेटवर्कको तुलनामा निकै फास्ट इन्टरनेट स्पिड प्राप्त गर्न सकिन्छ र यसको मूल्य पनि केही बढी हुन्छ ।

प्रतिक्रिया