बिहीबार, वैशाख २०, २०८१

‘बजारलाई व्यवस्थित गरिने हो भने पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किन्छ’

नेपालखोज २०७८ भदौ ३० गते १९:०७

काठमाडौं । सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९औँ वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोना भाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरुका लागि कुनै नीति नियम नबनाएको बताएका छन् ।

पुष्प व्यवसायमा पनि सबैभन्दा धेरै क्षति कट फ्लावरको क्षेत्रमा भएको बताएका छन् । सरकारले निषेधाज्ञा हटाएकोले बिस्तारै पुष्प व्यवसायले गति लिइरहेको व्यवसायीहरुको धारणा छ । कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरै मानिसहरुले रोजगारी गुमाएको भन्दै व्यवसायीहरुले सरकारले पुष्प व्यवसायलाई कृषिमा राख्न माग गरेका छन् ।

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ । व्यवसायीहरुले सरकारसँग राहत प्याकेजको कार्यक्रमको अपेक्षा राखेपनि सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताएका छन् । उनीहरुले सरकारले पुष्प व्यवसायीलाई राहत दिनको लागि बीमा गरिदिने र नीति नियम र दरिलो बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया