मंगलबार, वैशाख ११, २०८१

अफगानिस्तानमा चोरी गरे हात काट्ने कानुन !

नेपालखोज २०७८ भदौ ३१ गते १५:२७

काबुल । अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेपछि जुन कुराको डर थियो त्यो सत्य साबित हुने भएको छ । तालिबानले आफ्नो पुरानो सदाचार मन्त्रालय पुन:स्थापना गर्न लागेको छ । यो त्यही मन्त्रालय हो जसमाथि देशमा सरिया कानुन लागु गराउने जिम्मेवारी हुन्छ ।

बीस वर्षअघि अफगानिस्तानबाट तालिबानी सरकार लखेटिएपछि यो मन्त्रालय बन्द गरिएको थियो । तालिबानले अहिले मोहम्मद खलिलको नेतृत्वमा यो मन्त्रालयलाई फेरि जगाउने भएको छ ।

न्युयोर्क पोस्टका अनुसार यो बदनाम मन्त्रालय स्थापना भएपछि अफगानिस्तानको स्थिति अझ खराब हुनेछ । यो मन्त्रालयमार्फत तालिबान अफगानिस्तानमा कडा र परम्परागत धार्मिक कानुन सरिया लागु गर्न गइरहेको छ । यो कानुनमा महिलाहरुलाई घरका पुरुष सदस्यको साथबिना बाहिर कतै पनि जाने अनुमति दिइँदैन । त्यसका अतिरिक्त संगीत र मनोरञ्जनका सबै माध्यम प्रतिबन्धित गरिनेछन् । अफगानिस्तानको सेन्टरल जोनका प्रमुख मोहम्मद युसुफका अनुसार अब यो कानुन लागु गरेर अफगानिस्तानलाई इस्लाम धर्मको बाटोमा हिडाइनेछ ।

कस्तो हुन्छ सरिया कानुन ?
अफगानिस्तानमा अब अपराधको सजाय कस्तो हुनेछ भन्ने विषयमा मोहम्मद युसुफले भनेका छन्, अब हामी इस्लामिक नियमअनुसार सजाय दिनेछौं । सरिया कानुनमा हत्या गरेको अपराधमा अलग-अलग किसिमको सजायको व्यवस्था छ । कसैले जानी-बुझी कसैको हत्या गर्‍यो भने उसलाई सार्वजनिक स्थानमा लगेर मृत्युदण्ड दिइन्छ ।

यदि कसैले गल्तीले कसैको हत्या गरेको छ भने उसबाट जरिवाना असुलिन्छ । यो कानुनअनुसार चोरी गर्नेहरुको हात काटिन्छ । यदि कसैले अवैध सम्बन्ध राख्यो भने उसलाई सार्वजनिक स्थानमा उभ्याएर ढुंगा हानिन्छ ।

तालिबानको पहिलेको शासन (१९९६ देखि २००१) मा महिलाहरुलाई बुर्कामा बन्द गरिएको थियो । पुरुष नातेदारसँग बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला पुरुषहरुले अनिवार्य रुपमा दाह्री पाल्नुपर्थ्यो ।

‘मोरल पुलिस’ सक्रिय
न्युयोर्क पोस्टका अनुसार, अब अफगानिस्तानका प्रमुख सहरहरुका सबै सडक तथा चौबाटाहरुमा मोरल पुलिस तैनाथ गरिनेछ । यस्ता पुलिसलाई सरिया कानुन तोड्नेहरुलाई कोडा (कोर्रा) तथा बेतको लाठीले कुट्ने, अंग काट्नेदेखि लिएर मृत्युदण्डसम्म दिने अधिकार हुन्छ । यी कुराको उदाहरण अहिले काबुलका सडकहरुमा देखिन थालेको छ ।

शान्तिका लागि ‘सरिया’
तालिबानिहरुका अनुसार उनीहरु देशमा शान्ति चाहन्छन् जसका लागि इस्लामिक नियम-कानुन नितान्त जरुरी छ । तालिबानको एक मात्र उद्देश्य शान्ति र इस्लामी शासन हो ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया