शुक्रबार, चैत १६, २०८०

दशबुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्छ : महासचिव पोखरेल

नेपालखोज २०७८ भदौ ३१ गते १८:५०

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताएका छन् । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउनका लागि तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गरिने बताए ।

दश बुँदे कार्यान्वयनबाट पार्टी पछि नहट्ने उनले बताए । एमालेलाई कानुनी अर्थ र मर्मका आधारमा २०७५ साल जेठ २ गतेको एमाले भएपनि वर्तमान एमाले भनेको एकता पछि बनेको विकसित एमाले नै रहेको उनले स्पष्ट पारे । आजको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उनले उल्लेख गरे ।

महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको पनि बताएका छन्। कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने पनि उनले उल्लेख गरे । पोखरेलले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पु¥याउने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

त्यस्तै, महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन अवसरवादी र अनैतिक भएको टिप्पणी पनि गरे । गठबन्धन संविधान, कानुन, लोकतान्त्रिक मूल्यमान्यताको विपरित गएको उनको भनाई छ । उनले एमालेलाई आगामी दिनमा सुदृढ बनाउनका लागि विचारमा स्पष्टता हुनुपर्ने, पार्टी संगठन राज्यको संरचनासँग मिल्नेगरी बनाउनु पर्ने, पार्टीलाई विधिसम्मत् ढंगले चलाउनुप र्ने, पार्टी सदस्यको वृद्धि र गुणस्तरीयता साथै आर्थिक सामाजिक विकासमा अगुवाई गर्ने पार्टी बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया