बुधबार, वैशाख १२, २०८१

महासंघद्वारा एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेस

नेपालखोज २०७८ भदौ ३१ गते २०:३४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको छ ।

परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझावसहित उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन महासंघले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पेस गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर महाप्रसाद अधिकारी समक्ष आज पेस गरेका हुन् ।

एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको छ ।

उक्त अध्ययन प्रतिवेदनमार्फत एमएसएमई एवं स्टार्ट अपलाई पूंजी उपलब्ध गराउन कुल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनु पर्ने, परियोजनाको मूल्याङकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुझाव दिइएको छ ।

त्यस्तै निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र वीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागु गर्न बैंकहरूको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा औल्याइएको छ । बैंकलाई हुने जोखिम न्यूनीकरण तथा परियोजना व्यवस्थापनका लागि विकास साझेदारहरूबाट उपलब्ध कोष एकद्वार प्रणालीमार्फत परिचालन हुनुपर्ने र कर्जा सुरक्षण निगममार्फत कर्जा वीमा सेवाको विस्तार गर्न सकिने सुझाव प्रतिवेदनको छ ।

प्रतिक्रिया