शुक्रबार, मंसिर २८, २०८१

स्थानीयको चेतावनी- पाँचबुँदे माग पूरा भए फोहोर फाल्न दिन्छौं

नेपालखोज २०७८ असोज २ गते १६:०७

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायहरुले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोरे फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् ।

स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए । उनले सरकार र त्यहाँका स्थानीयहरुबिच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरुको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनु पर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म बञ्चरे डाँडामा फोहोर खस्न नदिने बताए ।

त्यस्तै अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए । उनले तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिति सिर्जना हुने बताए । उनले स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्यन हुन नसकेको पनि बताए । सरकारले लिचडको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल नै भइरहेको बेला फोहोर ल्याउन लागेको उनले बताए ।

त्यस्तै शहरी विकास तथा भवन निर्माण विभाग ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताए । उनले फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने बताए ।

त्यसैगरी विश्व सरसफाइ अभियन्ता राजमान मानवले फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको बताए । उनले सुन्दर उपत्यकालाई व्यवहार, सोच र राज्यको गैरजिम्मेवारीले काठमाडौं फोहोर भइरहेको बताए । विश्व सरसफाइ अभियन्ता मानवले भने, ‘फोहोरको कारण नेपालको छवि विश्वस्तरै केही दाग लागेको छ । नेपालको राजधानी जस्तो काठमाडौं सुन्दर उपत्यका, नेपाललाई त हावापानी र प्रकृतिको अनुपम नमूना भनिन्छ । सरकारको गैरजिम्मेवारीले गर्दा काठमाडौं फोहोर भइरहेको छ, प्रदूषित भइरहेको छ ।’

सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरे डाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् ।

स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भए मात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसके पछि मात्रै फोहोर बिसर्जन गर्न दिइने माग स्थानीयहरुको छ ।

प्रतिक्रिया