नेपालको इतिहासमै नदेखेको असफल सरकार : सांसद् पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद् कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा सांसद् पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको दाबी गरे ।
उनले अहिलेसम्म बजेट होलिडे नभएको स्मरण गराउँदै दुई महिनामा पनि मन्त्रपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको बताए । उनले संविधान संसोधन गर्ने कुरा, दलित, महिलाहरुको अधिकारका लागि भन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्ने तर्फ केन्द्रित भएको बताए । सांसद् पोखरेलले नेपालको संविधान विश्वमै सबैभन्दा राम्रो भएको दाबी गरे ।
कार्यक्रममा नेकपा माओवादीका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संसद् चल्यो भने नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद् चल्न नदिएको आरोप लगाए । उनले अबको केही दिनमै होलिडे खुलेर बजेट पारित हुने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको बताए ।
उनले प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर राम्रो काम गरेको बताए । उनले प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड- १९ को उपचारमा तीव्रता दिएको समेत बताए । उनले गठबन्धनको सरकार भएकोले एमसीसी नेपालको हित हुनेगरी एमसीसी पारित हुने बताए । उनले एमसीसी संसदमा आउन आवश्यक नरहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताए । उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने र संसद विघटन गर्ने जस्तादेश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए । उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्ननहुने भन्दै गठबन्धनमा आवद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे ।
नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गर्दै अहिलेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड-१९ को उपचारमा सरकार केन्द्रित रहेको बताए ।
प्रतिक्रिया