बुधबार, वैशाख १२, २०८१

संविधान जनता सर्वोच्च बनाउन होइन, नेता सर्वोच्च बनाउन (भिडियो रिपोर्ट)

नेपालखोज २०७८ असोज ३ गते १६:५९

काठमाडौं । संविधान निर्माण भएर ७ वर्षमा प्रवेश गर्दा पनि जनताहरु संविधानबाट खुशी हुन सकेका छैनन् । जनताका लागि बनाइएको संविधान जनचाहनाअनुरुप कार्यान्वयन नभइदिँदा संविधान र राजनीतिक दलका नेताहरुप्रति जनता रुष्ट देखिन्छन् ।

सातौँ संविधान दिवसको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम भइरहँदा बाहिर आम सर्वसाधारण भने निराश देखिन्थे । बाहिरबाटै संविधान दिवसको कार्यक्रम नियाली रहेका आम सर्वसाधारणहरुको एउटै स्वर थियो, संविधान जनतालाई सर्वोच्च बनाउन होइन, नेता सर्वोच्च बन्नका लागि रहेछ ।

आम सर्वसाधारणहरुले जनताले अपेक्षा गरेको १ प्रतिशत चाहना पनि संविधानबाट पूरा हुन नसकेको बताएका छन् । आम सर्वसाधारणहरुले अहिलेको संविधानबाट नेपाली जनताले कानुनी राज्य भएको महसुस नै नभएको बताएका छन् । अहिले नेपालमा विभेदको राजनीति मात्र भइरहेको जनताको गुनासो छ ।

संविधान बनाउने नेताहरुको नियत नै ठीक नभएको भन्दै आम सवएसाधारणहरु नेपालका राजनीतिक दलहरुप्रति रुष्ट बनेको टुँडिखेलमा पुगेका सर्वसाधारणहरुबाट प्रष्ट हुन्छ । संविधानभन्दा माथि नेताहरु भएको भन्दै जनताले टुँडिखेल बाहिरबाटै संविधान दिवसको कार्यक्रम हेरिरहेका सिन्धुपाल्चोकका चन्द्रबहादुर रामदामले नेताहरुले आफ्नो स्वार्थ र विदेशी मालिकहरुलाई रुझाउनका लागि संविधानको धज्जी उडाइरहेको बताए । उनले नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भनेर राजतन्त्र फालेकाहरु अहिले आफैँ सामन्ती र निरंकुश बनिरहेको बताए ।

आम सर्वसधारणहरुले जनताका लागि बनाइएको संविधान नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गरेको बताएका छन् । संविधानको नाममा नेताहरुले जनतालाई वस्तुको भाउमा उपयोग गरेर बाध्यकारी ढंगबाट पार्टीमा प्रवेश गराउने काममा मात्र नेताहरु लागि परेको सर्वसाधारणहरुको गुनासो छ । संविधान बनेको ६ वर्ष पूरा भइसक्दा समेत जनताले अनुभूति गर्न अहिलेसम्म नपाएको सर्वसाधारणहरुको भनाइ छ ।

प्रतिक्रिया