शुक्रबार, वैशाख १४, २०८१

उपल्लो मुस्ताङमा पुग्यो इन्टरनेट र टेलिफोन

नेपालखोज २०७८ असोज ४ गते ८:११

म्याग्दी । मुस्ताङमा नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ ।

मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिए । चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएको उनको भनाई छ ।

तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तारसँगै मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने बाध्यता हटेको छ ।

घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ ।

देश, विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएको चराङवासी घम्जुघुटी गुरुङले बताए । छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया